धनुषामा पेस्तोलसहित पक्राउ परेका युवकलाई प्रहरीले गर्‍यो सार्वजनिक

धनुषा प्रहरीले पेस्तोलसहित पक्राउ परेका दुई युवकलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । शनिबार पत्रकार सम्मेलनको आयोजना गरि धनुषा प्रहरीले पेस्तोलसहित पक्राउ परेका धनुषाको मिथिला नगरपालिका वडा नम्बर–६ बस्ने २८ वर्षीय रोशन महतो र सोही ठाउँ बस्ने ३६ वर्षीय शंकर महतोलाई सार्वजनिक गरेको हो । 

ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको संयुक्त प्रहरी टोलीले उनीहरुलाई मिथिला नगरपालिका वडा नम्बर–२ नक्टाझिझस्थित विश्वकर्मा चोकबाट पक्राउ गरेको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । 

बिहीबार राति करिब ८ बजेको समयमा मिथिला नगरपालिका–२ विश्वकर्मा चोकमा एक पुरुष पेस्तोल बोकेर गईरहेको गोप्य सुचनाको आधारमा खटेको प्रहरी टोलीले रोशनलाई शंकास्पद अवस्थामा पक्राउ गरेको थियो । 

शंकाको आधारमा महतोलाई चेकजाँच गर्दा उनको साथबाट ग्रिपको बिच भागमा पहेलो रंगको पाँच कोण भएको धातुको तारा आकारको चित्र अंकित माउजर पेस्तोल १ थान, पेस्तोलमा लोड गरिएको म्याग्जिन १ थान र म्याग्जिनमा लोड भएको केएफसेभेन प्वाइन्ट सिक्स फाइभ उल्लेख भएको गोली २ थान बरामद भएको थियो । 

पक्राउ परेका रोशनसँग सोधपुछ गर्दा उनले उक्त हतियार सोही ठाउँ बस्ने शंकर महतोसँग ५० हजार रुपैयाँ नगद दिई बाँकी २० हजार पछि दिने गरी धनुषाको जटहीस्थित सिमानाकाबाट खरिद गरेर ल्याएको भन्ने कुरा खुलेको एसपी खड्काले बताए । उक्त हतियार बिक्रि गर्ने शंकर महतोलाई समेत तत्कालै पक्राउ गरेर आवश्यक अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : माघ १४, २०७९ शनिबार १६:२३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया