आज दिउँसोबाट ‘सर्भर डाउन’ हुँदा नेपालमा सरकारका सबै वेबसाइट काम नगर्ने भएका छन् । सरकारी सर्भरमा समस्या आएका कारण नेपाल सरकार अन्तर्गतका सबै निकाय तथा कार्यालयका वेबसाइट खुलेका छैनन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनको ‘सर्भर डाउन’ हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । अध्यागमनको सर्भर बिग्रिँदा डेढ घण्टादेखि अन्तर्राष्ट्रिय उडान बन्द भएको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए ।
‘सर्भर डाउन छ, अन्तर्राष्ट्रिय उडान हुनसकेको छैन । भित्रिने र बाहिरिने यात्रु जो जहाँ छन् त्यहीँ रोकिएका छन्, जहाज उड्न पाएका छैनन्’, उनले भने ।
महाप्रबन्धक ठाकुरले ‘म्यानुअल्ली’सञ्चालनका लागि आफूले आग्रह गरे पनि ‘अथोरिटी’ नभएको भन्ने जानकारी प्राप्त भएको बताए । यसअघि पनि यस्तो समस्या आउने गरेको उनको भनाई छ ।
विमानस्थल कार्यालयका अनुसार अन्तर्राष्ट्रिय उडानका फ्लाई दुबई, इन्डिगो एयर इन्डियालगायत एयरलाइन्सका जहाजको उडान रोकिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।