रवि लामिछाने फेरि नियुक्त हुनसक्छन् गृहमन्त्री
फाइल तस्वीर ।

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले रवि लामिछानेको नागरिकता अवैध ठहर गरेपछि उनले एकै पटक राजनीतिका चार पद गुमाए । 

उनले अवैध नागरिकता प्रयोग गरेका कारण सांसद, मन्त्री, संसदीय दलको नेता तथा पार्टीको सभापति पद एकै पटकमा गुमाएका हुन् । 

छोटो राजनीतिक यात्रामा लामिछानेले ठूलो सफलता पाएका थिए, उनी ११ पुसमा नेपालको गृहमन्त्रीका रुपमा नियुक्त भएका थिए । पाँच वर्षे कल्पना गरिएको उनको कार्यकाल एक महिना मात्र सिमित भयो ।

शुक्रबार सर्वोच्चको फैसलाले लामिछानेले तत्काल नेपाली नागरिकता पुनप्र्राप्तिको प्रक्रिया सुरु गर्न पाउने उल्लेख गरेको छ । योसँगै लामिछानेले नेपाली नागरिकता फेरि पाउनका लागि आइतबार वा सोमबार नै प्रक्रिया सुरु गर्ने बताइएको छ । 

अहिलेको सत्ता गठबन्धनमा लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी पनि रहेको छ । तर, रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्रीको पद गुमाएपछि अबको समीकरण के हुन्छ भन्नेबारे सत्तारुढ दलका नेताहरुले केही बोलेका छैनन् । गठबन्धनका दलहरुले यस विषयमा आइतबारदेखि छलफल सुरु गर्ने बताइएको छ ।

यहीबीच लामिछानेले नेपाली नागरिकता पाएपछि उनलाई फेरि गृहमन्त्री बनाएर अगाडि बढ्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चाहना भएको उनीनिकट एक नेताले बताए ।



‘नागरिकतामा मात्र समस्या भएकाले नागरिकता लिएपछि उहाँलाई फेरि गृहमन्त्री बनाउने मुडमा प्रचण्ड देखिन्छन्,’ ती नेताले भने, ‘अनि चितवनमा हुने उपनिर्वाचनमा उहाँले जितेर आउनु भयो भने त्यो पद कायम रहिरहन्छ । चितवनमा ६ महिनाभित्रै उपनिर्वाचन हुन्छ ।’

संविधानतः संघीय सरकारमा मन्त्री भएको व्यक्ति ६ महिनाभित्र संघीय संसदको सदस्य हुनु पर्छ ।




  • प्रकाशित मिति : माघ १४, २०७९ शनिबार २३:२७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया