सुदूरपश्चिममा कुष्ठरोग : कुन जिल्लामा कति बिरामी?

सुदूरपश्चिम प्रदेशका तीन जिल्ला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भनेअनुसार कुष्ठरोग निवारण गर्न असफल भएका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेशमा शून्य दशमलव ९३ प्रतिशतमा कुष्ठरोग फेला परेको हो । 

चालू आर्थिक वर्षमा मात्रै ९ प्रतिशत नयाँ केश पत्ता लागेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका क्षयकुष्ठरोग अधिकृत मनोज ओझाले जानकारी दिए ।सुदूरपश्चिमका ६ जिल्लामा शून्य दशमलव ५ प्रतिशतभन्दा कम कुष्ठरोगको प्रकोप देखिए पनि कैलाली र अछाममा एकभन्दा बढी यस्तै कञ्चनपुरमा शून्य दशमलव   ८१ प्रतिशत देखिएको छ । 

कैलालीमा सबैभन्दा बढी १ सय ३१ कञ्चनपुरमा ३२ र अछाममा २५ जना कुष्ठरोग लागेका व्यक्तिको उपचार भइरहेको छ । यस्तै, डोटीमामा पाँच, बाजुरामा चार, बझाङमा तीन, दार्चुला र बैतडीमा दुई/दुई र डडेल्धुरामा एकजना कुष्ठरोगी रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा २ सय ५ जनामा कुष्ठरोग लागेको क्षयकुस्टरोग अधिकृत मनोज ओझाले बताए । जसमध्ये १ सय ११ जना पुरुष, ९४ महिला, दुई बालबालिका र १९ जनामा अपाङ्गताका लक्षण देखा परेको छन् । सुदूरपश्चिममा रहेका कुष्ठरोगका बिरामीमा १ सय ६० जनामा बढी सर्ने र ४५ जनामा कम सर्ने कुष्ठरोग देखिएको तथ्यांकमा उल्लेख छ ।

नयाँ कार्यविधिअनुसार पाँच वर्षसम्म निरन्तर १५ वर्षमुनिका बालबालिकाहरूमा कुष्ठरोग नदेखिए निवारण भएको मानिन्छ । सुदूरपश्चिमका ९ वटै जिल्लामा भने नयाँ केश भेटिने क्रम नरोकिएको ओझाले बताए ।

सुदूरपश्चिमका पहाडी जिल्लामा समयमै कुष्ठरोगका बिरामीलाई उपचारमा ल्याउन सकिएको छैन । हाल नेपालले कुष्ठरोगविहीन नेपालको परिकल्पना गरेको छ । 



आगामी सन् २०३० सम्म नेपालमा कुष्ठरोगलाई शून्यमा झार्ने लक्ष्य लिइएको छ । सुदूरपश्चिममा पनि सोही लक्ष्यअनुसार काम अगाडि बढाइएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. जगदीश जोशीले बताए । निर्देशनालयले जनचेतनात्मकसँगै तालिम, गोष्ठी लगायतका निवारणमुखी कार्यक्रम अगाडि बढाएको उनको भनाइ छ ।

कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोब्यक्टेरियम लेप्रे नामको सूक्ष्म जिवाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने सामान्य रोग हो । यो रोग मानिसबाट मानिसमा सर्छ । उपचार नगरेको कुष्ठरोग बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिहरूलाई विषेशगरी स्वासप्रश्वासको माध्यमबाट यो रोग सर्ने गर्दछ ।  



उपचार गरे पूर्णरूपमा यो रोग निको हुन्छ । सुरुकै अवस्थामा रोगको निदान र उपचार गरेमा यो रोग अन्यलाई सर्दैन । समयमै उपचार गरेमा कुष्ठरोग पूर्णरूपमा निको हुनुका साथै अपाङ्गता पनि हुँदैन ।    

  • प्रकाशित मिति : माघ १५, २०७९ आइतबार ९:४१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया