उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजदूतबीच शिष्टचार भेटवार्ता

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज भएको भेटमा आपसीहित, दुई देशबीचको सम्बन्ध, चीनले नेपालमा अगाडि बढाइरहेका परियोजनालगायतका विषयमा छलफल भएको थियो । उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजदूतबीच एकअर्कालाई बधाई दिँदै सफल कार्यकालको कामना गरेको भेटमा सहभागी मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिए ।

नेपालका लागि चिनियाँ राजदूतका रुपमा नियुक्त भएर आएका चेनलाई सफल कार्यकालको शुभकामना दिँदै उपप्रधानमन्त्री श्रेष्ठले दुई देशबीचको जनस्तरको सम्बन्ध थप विस्तार हुने विश्वास प्रकट गरे ।

उपप्रधानमन्त्री श्रेष्ठले लामो समयदेखि अगाडि बढ्न नसकेको चक्रपथको कलङ्की–चाबहिल सडकखण्ड विस्तारको कामलाई शीघ्र अगाडि बढाउनसमेत चिनियाँ पक्षलाई आग्रह गरे । चिनियाँ पक्षले आयोजनास्थलमा केही अवरोध रहेकाले त्यसलाई तत्काल हटाइदिन उपप्रधानमन्त्री श्रेष्ठलाई आग्रह गरेको थियो ।

यस्तै चीन सरकारको सहयोगबाट यस मन्त्रालयअन्तर्गत अगाडि बढिरहेका अन्य आयोजनाका बारेमा समेत सो अवसरमा सामान्य कुराकानी भएको सचिव शर्माले उल्लेख गरे ।  





  • प्रकाशित मिति : माघ १५, २०७९ आइतबार ११:४७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया