भारतमा निर्माण हुने राम मन्दिरको ‘देवशिला’ जनकपुरधाममा, विशेष पूजा गरिँदै

कालीगण्डकीबाट निकालिएका दुईवटा देवशिला शनिबार राति जनकपुरधाम आइपुगेको छ । शालिग्राम शिला पाइने विश्वकै एक मात्र नदी कालीगण्डकीबाट बुधबार निकालेर गलेश्वरधाम परिसरमा लगिएको सो शिला बिहीबार मन्दिरमा रुद्राभिषेकसहित विशेष पूजाआजा गरी जनकपुरधामस्थित जानकारी मन्दिरमा ल्याइएको हो ।  

कालीगण्डकी नदीबाट ल्याइएको दुई विशाल ‘देवशिला’ लाई जानकी मन्दिरमा आज भव्यपूर्वक विशेष पूजा गरिँदै छ । सो शिलाबाट भारतको अयोध्यामा निर्माणाधीन श्रीरामजन्मभूमि मन्दिरमा भगवान रामको मुख्य मूर्ति बनाइनेछ ।

म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी किनारको शिला क्रेनमार्फत निकाली गाडीमा राखेर गलेश्वर लगिएको थियो । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकी मन्दिरका महन्थ रामतपश्वेर दास वैष्णवलाई हस्तान्तरण गरेपछि बाजागाजा र र्‍यालीसहित सो शिला जनकपुरधाम ल्याइएको हो ।

रामको मूर्ति बनाइने शिलाको दर्शन गर्न आज जानकी मन्दिर परिसरमा भक्तजन, सरकारी निकायका प्रमुख तथा जनप्रतिनिधि, सर्वसाधारणलगायतको भीड लागेको थियो ।

गत आइतबार गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले धार्मिक विधिअनुसार क्षमापूजा र गंगा पूजन गरेर शिला महन्थ दास र अयोध्याको राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजलाई शिलाको प्रतीकस्वरुप तीनवटा शालिग्राम हस्तान्तरण गरेका थिए ।



मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १८ र १६ मेट्रिक टन तौलका, ७ फिट लम्बाइ, ५ फिट चौडाइ र ३ दशमलव ५ फिट मोटाइका दुईवटा शिलाको पहिचान र क्षमापूजा भएपछि बिहीबार श्रीपञ्चमीको शुभसाइतमा शिला जनकपुरधाम हुँदै सोमबार अयोध्या पठाइने छ । 

शिला संकलन तथा पठाउने कार्यमा सक्रिय रहेका जानकी मन्दिरका महन्थ दासले ढुंगाबाट कुदिएर निर्माण गरिने भगवान रामको बालस्वरूप राम मन्दिरको गर्भगृहमा रहने जानकारी दिए । 



राममन्दिरमा ४ सय वटा कलात्मक पिल्लर राखिएको छ । हरेक खम्बामा १६ वटा देवीदेउताका मूर्ति कुदिनेछ ।’ मन्दिरमा ६ हजार ४ सय देवी देउताका कलात्मक मूर्तिहरु कुदिनेछ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२० अगस्त ५ मा मन्दिर निर्माणका लागि भूमि पूजन गरेका थिए । सो भूमि पूजनपछि मन्दिर निर्माणका कार्य प्रारम्भ भएको थियो । 

सन् २०१९ मा भारतको सर्वोच्च अदालतले मन्दिर निर्माणका लागि स्वीकृति प्रदान गरेको थियो । सो जग्गा राममन्दिर निर्माण प्राप्तिका लागि १३५ वर्ष लामो कानुनी लडाइ लडिएको थियो । 

विशेष पूजामा प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधि, जुली महतो, मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, मुख्यमन्त्री सरोजकुमार यादव, सभामुख रामचन्द्र मण्डल, लोसपा नेता अनिल झालगायतकाहरूको उपस्थिति थियो ।

अयोध्यासँगको जनकपुरधामको धार्मिक र ऐतिहासिक सम्बन्ध रहेकाले कालीगण्डकीको शिला अयोध्या लगेर भगवान श्रीरामको मूर्ति बनाउँदा कालीगण्डकीको महत्व अझै बढ्ने अयोध्याबाट आएका राम मन्दिर निर्माण समितिका सचिव पंकजले बताए ।

बेनी नगरपालिकाले गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरेको सो शिला गण्डकी प्रदेश सरकारले मधेस प्रदेश सरकारलाई जनकपुरधाम ल्याएर हस्तान्तरण गरेको हो । जनकपुरधामबाट प्रदेश सरकारले भारतलाई हस्तान्तरण गरेपछि सोमबार अयोध्या पठाइने बताइएको छ ।

देवशिला अयोध्या लैजाने वातावरण कसरी बन्यो?

गत साउनमा भारत भ्रमणमा गएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले अयोध्या राम मन्दिर निर्माण समितिका अध्यक्ष नृपेन्द्र मिश्र, श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत राय र भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेट गरे ।

भेटमा नेता निधिले अयोध्यामा निर्माणाधीन श्रीराम जन्मभूमि मन्दिरमा राख्ने धातुको धनुष नेपालमै निर्माण गर्ने र रामको प्रतिमा बनाउन आवश्यक देवशिला कालीगण्डकीबाट ल्याउने प्रस्ताव राखेका थिए ।

जानकी मन्दिरका तर्फबाट धनुष राख्ने र रामको प्रतिमा नेपालको कालीगण्डकी क्षेत्रको शिलाबाट बनाउने निधिको प्रस्तावमा भारतीय पक्ष सहमत भएको थियो । त्यसपछि नेपाल फर्किएका निधिले सरकारलाई भारतीय पक्ष नेपालका दुवै प्रस्तावमा सहमति भएको जानकारी दिए ।
पुस ३ गते बसेको पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को बैठकले रामको प्रतिमा निर्माणका लागि प्रयोग गरिने शालिग्राम शिलाको खोजी गर्ने निर्णय गरेको थियो ।

यसको खोजी म्याग्दी र कालीगण्डककी नदीको दोभानबाट सुरु गरिएको थियो । तत्कालीन समयमा शिलाको खोजीका लागि पहल गरेका निधिसहितको टोली नै शिला उत्खनन स्थलमा आएको थियो ।

गण्डकी प्रदेशको ‘लाइफलाइन’ कालीगण्डकी करिडोरअन्तर्गत उत्तर–दक्षिण जोड्ने बेनी–गलेश्वर सडकखण्डअन्तर्गत म्याग्दीको बेनी नगरपालिका वडा नम्बर–६ ठूलो पहिरोनजिकै कालीगण्डकी नदीको तीरमा १८ टनको क्वार्जराइट र १० टनको क्यालसाइट नामका शिला पहिचान गरिएपछि विधिपूर्वक उत्खननको तयारी गरियो ।

कालीगण्डकी नदीमा कालो र सेतो शिला प्रशस्त पाइए पनि शिला निकाल्न सम्भव नभएपछि सहज स्थानमा प्राविधिक तथा धार्मिक टोली केन्द्रित भएको थियो । उत्खनन् गर्दा हुनसक्ने क्षतिबारे समेत टोलीलाई सचेत बनाइएको र निकालिन लागेको शिलाले नदी आसपासमा कुनै क्षतिको सम्भावना नभएकाले स्काभेटरले खन्ने र क्रेनले उत्खनन गर्ने सहमति भएको थियो ।  

  • प्रकाशित मिति : माघ १५, २०७९ आइतबार १२:५०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया