इँटा उद्योगमा भएको हत्याको १७ वर्षपछि आरोपित पक्राउ, एकजना अझै फरार

भक्तपुरको एक इँटा उद्योगमा भएको हत्याको घटनाका आरोपित १७ वर्षपछि पक्राउ परेका छन् । चाँगुनारायण नगरपालिका–९ ताँथलीस्थित गणेश इँटा उद्योग नजिकै रहेको कुलो छेउमा अचेत अवस्थामा फेला परी उपचारका क्रममा मृत्यु भएका कृष्ण योगीको हत्याको आरोपमा दुईजना पक्राउ परेका हुन् । घटनामा संलग्न एक अझै फरार छन् ।  

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१ स्थायी घर भएका सुकमान भन्ने कान्छाराम तामाङ र सोही स्थान बस्ने बहादुर तामाङ रहेका छन् । कान्छाराम त्यसबेला इँटा उद्योगमा पानी पाले र बहादुर सोही उद्योगकै गाडी चालकको काम गर्दथे ।

घटना विवरणानुसार २०६२ माघ ३० गते बिहान तत्कालीन ताँथली गाविस–८ स्थित गणेश इँटा उद्योग नजिकै रहेको कुलो छेउमा ४१ वर्षीय योगी रगत पक्ष भई अचेत अवस्थामा फेला परेको र उनलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा थप उपचारका लागि वीर अस्पताल सिफारिस गरियो । उपचारकै क्रममा योगीको वीर अस्पतालमा मृत्यु भएको थियो ।

घटनाको प्रारम्भिक अनुसन्धानमा मृतक योगीलाई सोही गणेश इँटा उद्योगका काम गर्ने सुकमान, बहादुर र देवेन्द्र भनिने देव थापाले कुटपिटपछि हत्या गरी घटनापश्चात् फरार भएको भन्ने खुल्न आएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए ।

घटनामा संलग्नको यकिन ठेगाना खुल्न आएपछि प्रहरीले भक्तपुर जिल्ला अदालतको अनुमति लिई पक्राउ पुर्जीसहित प्रहरी वृत्त जगातिका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठ नेतृत्वको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । घटनामा मृत्यु भएका योगीका भान्जा ईश्वर बस्नेतको किटानी जाहेरीअनुसार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : माघ १५, २०७९ आइतबार १४:१०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया