जनकपुरधाममा शहीद दुर्गानन्द झाको स्मारक शिलान्यास

प्रथम गणतन्त्रवादी अमर शहीद दुर्गानन्द झाको ६०औं बलिदान दिवसको अवसरमा जनकपुरधाममा आइतबार स्मारक शिलान्यास गरिएको छ । दुर्गानन्द स्मारक निर्माण समितिले जनकपुरधाम–२३ लादो बेलामा करिब डेढ करोडको लागतमा शहीद दुर्गानन्द झाको स्मारक निर्माण गर्न लागेको हो । 

ऐतिहासिक जानकी मन्दिरको प्रांगणमा २०१८ साल माघ ९ गते तत्कालिन तानाशाह राजा महेन्द्रमाथि २० वर्षीय युवा दुर्गानन्दले बम प्रहार गरेको स्थलमा जनकपुरधाम बौद्धिक समाजले उनको स्मारक निर्माण गर्न २०६५ असार ९ गते शहीद दुर्गानन्द झा स्मारक निर्माण समितिको गठन गरी उनको आदमकद ६ फिट १ इन्च अग्लो स्मारक निर्माण गराएको साढे १४ वर्ष भई सक्दापनि निर्माणस्थल विवादले स्मारक लगाउन सकिएको थिएन । 

आइतबार पुनः उनको बलिदानी दिवसको अवसरमा शिलान्यास गरिएको र सकभर यसै आर्थिक वर्ष भित्र निर्माण कार्य पूरा हुने बताइएको छ । 

को हुन् शहीद दुर्गानन्द झा?
महान विभूतिहरु मध्येका एक अमर शहीद दुर्गानन्द थिए । जो आफ्नी वृद्धा आमा र नवविवाहिता धर्मपत्नीलाई छोडेर सदा सर्वदाका लागि कहिले नफर्किने गरी विदा भएका थिए । १९९७ साल माघ १० देखि १५ सम्ममा शुक्रराज, धर्मभक्त, गंगालाल र दशरथ चन्दलाई मृत्युदण्ड दिइएको १५ महिनापछि १९९९ सालमा जनकपुरधामदेखि १४ किलोमिटर दक्षिण तत्कालिन महोत्तरी जिल्लाअन्तर्गत नेपाल भारत सीमानाको जटही गाउँमा वैशाख १४ गते दुर्गानन्द झाको जन्म भएको थियो । 

जटहीका देवनारायण झा र श्रीमती सुकुमारी देवी झाको एक मात्र सुपुत्र दुर्गानन्द झा बाल्यकालमै रहँदा उनको पिताको निधन भएकोले उनको शिक्षा–दीक्षा माता सुकुमारी देवीको रेखदेखमा भयो । २०१८ माघ ९ गतेको दिन राजा महेन्द्र विराटनगरबाट विशेष विमानद्वारा जनकपुर विमानघाटमा पुग्ने कार्यक्रम थियो । विमानस्थलमा राजा ओर्लनु पूर्व नै अरविन्द कुमार ठाकुर बमको साथ पक्राउ परेकाले यात्रा ५ घण्टा रोकिएको थियो र कडा सुरक्षा व्यवस्थापछि राजा महेन्द्र जानकी मन्दिर पुग्दा जानकी चौकमा गाडी रुक्नासाथ दुर्गानन्दले बम प्रहार गरी देश र दुनियालाई नयाँ सन्देश दिएका थिए ।  

हजारौं सेना र प्रहरीको कडा सुरक्षाकाबीच राजा चढेको गाडीमा बम प्रहार गरेर पनि उनी पक्राउ परेका थिएनन् भने जानकी माताको शरणमा पुगेका राजा पनि बाँचेका थिए । जनकपुर बम काण्डको नाममा ५९ जना समातिएका थिए । पक्राउ परेकाहरुलाई मरनासन्न गरी कुटपिट गरिएको खबर पाउँदा दुर्गानन्द भारतमा आफू निर्वासित बस्न ठीक मानेनन् । तीन महिनापछि २०१८ साल वैशाखमा फर्केका उनलाई प्रहरीहरुले घेरामा लिएर जलेश्वर जेलमा राखेर भोलिपल्ट पर्काैली सैनिक ब्यारेकमा ल्याई हेलिकप्टरबाट काठमाण्डौ पुर्याई सुन्धारास्थित केन्द्रीय कारागारमा राखिएको थियो । 



सरकारले विशेष अदालतका न्यायाधीश पशुपति प्रसाद उपाध्यायको अध्यक्षतामा उच्चस्तरीय छानविन समिति गठन गरेको थियो त्यसमा झपट सिंह रावल र गुणनाथ उपाध्याय पनि सदस्य थिए । आयोगले कुनै पुर्पक्ष नै नगरी २०१९ भाद्र १९ मा दुर्गानन्द झाका साथै अरविन्द कुमार ठाकुर र दलसिंह थापालाई मृत्यु दण्ड दिने निर्णय गरेको थियो । नेपालको इतिहासमा १९९७ सालमा राज्यले शुक्रराज, धर्मभक्त, गंगालाल र दशरथचन्दलाई मृत्युदण्ड दिएको २३ वर्षपछि राज्यको निर्णयद्वारा दुर्गानन्द झालाई २०२० माघ १५ गतेको मध्यरात्रिमा सुन्धारास्थित केन्द्रीय कारागारमा गोली हानी मृत्युदण्ड दिइएको थियो । 



  • प्रकाशित मिति : माघ १५, २०७९ आइतबार १६:३०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया