सम्बृद्धिको दूरगामी यात्रालाई पुनः अगाडि बढाउने प्रयासमा छौँ  : ओली
फाइल फाेटाे

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समाज र राष्ट्रको हितमा निःस्वार्थरुपमा सक्रिय हुँदै अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

शहीद दिवसको अवसरमा आज सन्देश दिँदै उनले शहीदको बलिदानी स्वरूप प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने अभियानमा रहेको बताएका छन् । उनले सबल लोकतन्त्र, सुदृढ अर्थतन्त्र, सुशासन र सामाजिक न्यायको व्यवहारिक कार्यान्वयनमार्फत मुलुकमा नवनिर्माणको शृङ्खला अघि बढाएर मात्र हामी शहीदले देखाएको मार्ग अनुशरण गर्नसक्ने उल्लेख गरेका छन् ।

अध्यक्ष ओलीले शहीदले देखेको सपनाकको सार राजनीतिक स्वतन्त्रता मात्र होइन, देशको समृद्धि र जनताको सुख पनि रहेको जनाउँदै भनेका छन्, ‘देशको समृद्धि र जनताको सुख प्राप्तिका लागि हामी राजनीतिक स्थिरता, सुशासन, विकास र सम्बृद्धिको  दूरगामी यात्रालाई पुनः अगाडि बढाउने प्रयासमा अघि बढिरहेका छौँ ।’
 
उनले अकर्मण्य, कर्तव्यहीन, उद्देश्यहीन र गन्तव्यहीन प्रवृत्तिबाट देशलाई  मुक्त गर्दै  पुनः सुशासन र समृद्धितर्फको यात्रामा केन्द्रित गर्नेतर्फ एमालेले अग्रसरता लिएको बताए । उनले एमाले देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न चाहेको उल्लेख गर्दै लोकतन्त्रलाई राजनीतिक अधिकारको सङ्कुचित परिभाषाबाट माथि उठाउँदै जनताका सम्पूर्ण आवश्यकता र अधिकार परिपूर्तिको जीवनमूल्य समेटिएको परिपूर्ण लोकतन्त्रका रूपमा व्यवहारमा अनूदित गर्ने उल्लेख गरेका छन् ।

‘जनताको जीवनमा परिवर्तन ल्याउन देशलाई सुशासनयुक्त, पछौटेपनमुक्त, गरिबीरहित, सुशिक्षित, आधुनिक, समृद्ध र सुविधासम्पन्न बनाउनुपर्छ’, उनले शुभकामना सन्देशमा भनेका छन्,‘यसका लागि लोकतान्त्रिक अभ्यास व्यक्ति र समूहका निजी दूराकाङ्क्षाको पूर्तिमा आधारित नभएर स्तर राजनीति र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा परिपूर्तिको उद्देश्यमा केन्द्रित हुनुपर्छ । अमर शहीदको बलिदानीले हामीलाई गरेको मार्गदर्शन पनि यही हो ।’ 





  • प्रकाशित मिति : माघ १६, २०७९ साेमबार ११:११:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया