धनुषामा थुनुवा कक्षको भित्ता फोडेर फरार भएका ६ मध्ये पेस्तोलसहित पक्राउ परेका दुई युवक पनि रहेका छन् । आइतबार राति जिल्लाको क्षीरेश्वरनाथ नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको थुनुवा कक्षबाट फरार भएका ६ जना थुनुवामध्ये दुई युवकलाई शनिबार मात्रै प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको थियो ।
प्रहरीले पेस्तोलसहित पक्राउ परेका धनुषाको मिथिला नगरपालिका वडा नम्बर–६ बस्ने २८ वर्षीय रोशन महतो र सोही ठाउँ बस्ने ३६ वर्षीय शंकर महतोलाई सार्वजनिक गरेको थियो । इलाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको संयुक्त प्रहरी टोलीले उनीहरूलाई मिथिला नगरपालिका वडा नम्बर–२ नक्टाझिझस्थित विश्वकर्मा चोकबाट पक्राउ गरेको थियो ।
गत बिहीबार राति करिब ८ बजेको समयमा मिथिला नगरपालिका–२ विश्वकर्मा चोकमा एक पुरुष पेस्तोल बोकेर गइरहेको गोप्य सूचनाको आधारमा खटेको प्रहरी टोलीले रोशनलाई शङ्कास्पद अवस्थामा पक्राउ गरेको थियो ।
शंकाको आधारमा महतोलाई चेकजाँच गर्दा उनको साथबाट ग्रिपको बिच भागमा पहेलो रंगको पाँच कोण भएको धातुको तारा आकारको चित्र अंकित माउजर पेस्तोल १ थान, पेस्तोलमा लोड गरिएको म्याग्जिन १ थान र म्याग्जिनमा लोड भएको केएफसेभेन प्वाइन्ट सिक्स फाइभ उल्लेख भएको गोली २ थान बरामद भएको थियो ।
पेस्तोलसहित पक्राउ परेका ती दुवै युवकलाई धनुषामा भर्खरै आएका एसपी विश्वराज खड्काले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरी प्रहरीको सफलता सिद्ध गर्न खोजेका थिए । तर, पक्राउ परेको दुई दिन नबित्दै उनीहरू पनि हिरासत कक्षको भित्ता फोडेर फरार भएपछि प्रहरीमाथि ठूलो प्रश्न चिन्ह उठेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।