दुई विशाल ‘देवशिला’ जनकपुरधामबाट अयोध्याका लागि प्रस्थान

कालीगण्डकीबाट निकालिएका देवशिला सोमबार जनकपुरधामबाट अयोध्याका लागि प्रस्थान गरेको छ । शालिग्राम शिला पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीबाट बुधबार निकालेर गलेश्वरधाम परिसरमा लगिएको सो शिला बिहीबार मन्दिरमा रुद्राभिषेकसहित विशेष पूजाआजा गरी शनिबार राति जनकपुरधामस्थित जानकारी मन्दिरमा ल्याइएको थियो ।

कालीगण्डकी नदीबाट ल्याइएको दुई विशाल ‘देवशिला’ लाई जानकी मन्दिरमा आइतबार दिनभर विशेष पूजापाठ र महाआरति गरिएको थियो । सो शिलाबाट भारतको अयोध्यामा निर्माणाधीन श्रीरामजन्मभूमि मन्दिरमा भगवान रामको मुख्य मूर्ति बनाइनेछ । म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी किनारको शिला क्रेनमार्फत निकाली गाडीमा राखेर गलेश्वर लगिएको थियो ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकी मन्दिरका महन्थ रामतपश्वेर दास वैष्णवलाई हस्तान्तरण गरेपछि बाजागाजा र र्यालीसहित सो शिला जनकपुरधाम ल्याइएको थियो ।

१८ र १६ मेट्रिक टन तौलका, ७ फिट लम्बाइ, ५ फिट चौडाइ र ३ दशमलव ५ फिट मोटाइका दुईवटा शिलाको पहिचान र क्षमापूजा भएपछि बिहीबार श्रीपञ्चमीको शुभसाइतमा शिला जनकपुरधाम हुँदै सोमबार अयोध्या पठाइएको हो ।

रामको मूर्ति बनाइने शिलाको दर्शन गर्न जानकी मन्दिर परिसरमा भक्तजन, सरकारी निकायका प्रमुख तथा जनप्रतिनिधि, सर्वसाधारणलगायतको आइतबार दिनभर भीड लागेको थियो । गत आइतबार गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले धार्मिक विधिअनुसार क्षमापूजा र गंगा पूजन गरेर शिला महन्थ दास र अयोध्याको राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजलाई शिलाको प्रतीकस्वरुप तीनवटा शालिग्राम हस्तान्तरण गरेका थिए ।



शिला संकलन तथा पठाउने कार्यमा सक्रिय रहेका जानकी मन्दिरका महन्थ दासले ढुंगाबाट कुदिएर निर्माण गरिने भगवान रामको बालस्वरुप राम मन्दिरको गर्भगृहमा रहने जानकारी दिए ।



राममन्दिरमा ४ सय वटा कलात्मक पिल्लर राखिएको छ । हरेक खम्बामा १६ वटा देवीदेउताका मूर्ति कुदिनेछ । मन्दिरमा ६ हजार ४ सय देवी देउताका कलात्मक मूर्तिहरु कुदिनेछ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२० अगस्त ५ मा मन्दिर निर्माणका लागि भूमि पूजन गरेका थिए । सो भूमि पूजनपछि मन्दिर निर्माणका कार्य प्रारम्भ भएको थियो ।

सन् २०१९ मा भारतको सर्वोच्च अदालतले मन्दिर निर्माणका लागि स्वीकृति प्रदान गरेको थियो । सो जग्गा राममन्दिर निर्माण प्राप्तिका लागि १३५ वर्ष लामो कानूनी लडाइ लडिएको थियो । अयोध्यासँगको जनकपुरधामको धार्मिक र ऐतिहासिक सम्बन्ध रहेकाले कालीगण्डकीको शिला अयोध्या लगेर भगवान श्रीरामको मूर्ति बनाउँदा कालीगण्डकीको महत्व अझै बढ्ने अयोध्याबाट आएका राम मन्दिर निर्माण समितिका सचिव पंकजले बताए ।

बेनी नगरपालिकाले गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरेको सो शिला गण्डकी प्रदेश सरकारले मधेस प्रदेश सरकारलाई जनकपुरधाम ल्याएर हस्तान्तरण गरेको थियो । जनकपुरधामबाट प्रदेश सरकारले भारतलाई हस्तान्तरण गरेपछि सोमबार अयोध्या पठाइएको छ । 

  • प्रकाशित मिति : माघ १६, २०७९ साेमबार ११:३६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया