प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा भएका परिवर्तनलाई संस्थागत गर्दै जनाताको सुशासन र समृद्धिको सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘परिवर्तन भए पनि सुशासन र विकासको अपेक्षा पूरा हुँदैन कि भन्ने जनताको चासो र चिन्ता छ, जनताको यो अपेक्षा पूरा हुन्छ’, उनले भने ।
गोकर्णस्थित जगडोलमा निर्माण गरिएको ‘राष्ट्रिय शहीद तथा बेपत्ता स्मृति पार्क’ को आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस पटक सुशासन, विकास र समृद्धिका मानकहरु बनाउने बताए । उनले समृद्धि, सुशासन र सामाजिक न्यायको सपना पूरा गर्न वर्तमान सरकार निरन्तर कटिबद्ध रहेको समेत बताए ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘देशको विकास, समृद्धि, राष्ट्रिय एकता र लोकतन्त्रका निम्ति इतिहासको विभिन्न कालखण्डमा शहीदहरूले बगाएको रगत र त्यसलाई सम्मान गर्ने प्रक्रियासँग जोडिएको हुन्छ, देश र जनताका निम्ति प्राणउत्सर्ग गर्ने महान् शहीदप्रति जति सम्मान हुन्छ, त्यस देशमा राष्ट्रिय एकता, शुसासन, समृद्धि र विकासको यात्रा पनि त्यति नै सहज ढङ्गले अगाडि बढ्न सक्दछ ।’ नेपालमा अहिलेसम्म भएका शहीदका अभिलेख राख्ने र त्यसलाई राष्ट्रको सम्पत्ति र नेपाली जनताको आस्थाको धरोहरका रुपमा लिने उनको भनाइ छ ।
राष्ट्रिय शहीद तथा बेपत्ता स्मृति पार्क निर्माणका निम्ति अर्थ मन्त्रालयबाट निकासा हुन बाँकी केही रकम जति सक्दो चाँडो निकासाका निम्ति पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री दाहालले पार्क निर्माणलाई शहीदको सम्मान र शान्ति सम्झौताको स्मृतिको पार्कका रुपमा महसुस गरेको उल्लेख गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।