थुनुवा फरार प्रकरण : इप्रका महेन्द्रनगरमा नयाँ इन्स्पेक्टर पठाइने, तीन कर्मचारी निलम्बित

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट आइतबार राति ६ जना थुनुवा फरार भएको घटनापछि तीनजना प्रहरी कर्मचारीलाई निलम्बन गरिएको छ ।

मधेस प्रदेश प्रहरी कार्यालयले हिरासत कक्ष अधिकृतसहित तीनजना प्रहरी कर्मचारीलाई निलम्बन गरेको हो । निलम्बित हुनेहरूमा इप्रका महेन्द्रनगरका हिरासत कक्ष अधिकृत असई अशोक मण्डल, प्रहरी हवल्दार सरोज रेग्मी र प्रहरी जवान रोहन मगर रहेका प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए ।

साथै घटनाको छानबिन गर्नका लागि प्रदेश प्रहरी कार्यालयका एसएसपी मनोजकुमार यादवको संयोजकत्वमा छानबिन समिति पनि गठन गरिएको छ । त्यस्तै, जिल्ला प्रहरी कार्यालय धनुषाले समेत प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । 

थुनुवा फरार भएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरको जिम्मेवारी नयाँ इन्स्पेक्टरलाई छिट्टै दिइने प्रवक्ता क्षेत्रीले बताए । ‘इन्स्पेक्टर बेचन यादवलाई जिम्मेवारीबाट मुक्त गरिएको छैन,’ क्षेत्रीले भने, ‘नयाँ इन्स्पेक्टर आएलगत्तै उनलाई जिम्मेवारीबाट मुक्त गरिने वा निलम्बन गरिने विषयमा निर्णय लिइनेछ ।’ 

आइतबार राति इप्रका महेन्द्रनगरको हिरासत कक्षको भित्ता फोडेर ६ जना थुनुवा फरार भएका थिए । फरार भएकामध्ये मिथिला नगरपालिका–६ का २८ वर्षीय रोशन महतोलाई सोमबार साँझ ६ बजे पुनः पक्राउ गरिएको हो । 

बाँकी पाँच थुनुवा अझै फरार छन् । पक्राउ परेका रोशनमाथि हातहतियार तथा खरखजना मुद्दा चलिरहेको छ । महतोलाई हतियारसहित प्रहरीले गत शनिबार पक्राउ गरेर सार्वजनिक गरेको थियो ।  



फरार अन्य पाँच थुनुवाको खोजी तीव्ररूपमा भइरहेको प्रहरीले जनाएको छ । क्षीरेश्वरनाथ नगरपालिका–५ बस्ने लागुऔषध मुद्दाका अभियुक्त ३० वर्षीय विनोदकुमार शर्मा, क्षीरेश्वरनाथ नगरपालिका–२ बस्ने राष्ट्रसेवक बाधा विरोध मुद्दाका २५ वर्षीय अमित मण्डल, क्षीरेश्वरनाथ नगरपालिका–२ बस्ने राष्ट्रसेवक बाधा विरोध मुद्दाका २५ वर्षीय रोशन यादव, मिथिला नगरपालिका–२ बस्ने अभद्र व्यवहार मुद्दाका २५ वर्षीय हरिदीप सिंह र मिथिला नगरपालिका–६ बस्ने हातहतियार तथा खरखजाना मुद्दाका ३६ वर्षीय शंकर सिंह अझै फरार रहेका छन् ।



  • प्रकाशित मिति : माघ १७, २०७९ मंगलबार १२:२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया