न्युजिल्याण्डसँगको टी–२० सिरिज भारतले जित्यो, गिलको कीर्तिमानी शतक

न्युजिल्याण्डविरुद्धको टी–२० सिरिज भारतले आफ्नो पक्षमा पारेको छ । गएराति सम्पन्न निर्णायक तथा तेस्रो खेलमा न्युजिल्याण्डलाई १ सय ६८ रनले हराउँदै भारतले सिरिज २–१ ले आफ्नो पक्षमा पारेको हो ।

टी–२० क्रिकेटमा भारतको यो अहिलेसम्मकै फराकिलो जितको हो । सिरिजको पहिलो खेल जिते पनि दोस्रो र तेस्रो म्याचमा भने न्युजिल्याण्डले खराब प्रदर्शन गर्‍यो । निर्णायक खेलमा भारतले दिएको २ सय ३५ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले १२.१ ओभरमा सबै विकेट गुमाएर ६६ रन मात्र बनाउन सक्यो । उसका लागि डारियन मिचेलले ३५ र कप्तान मिचेल सान्टनरले १३ रन बनाए ।   

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । भारतका लागि हार्दिक पाण्ड्याले चार, शिवम मावी, उमरान मलिक र अर्शदीप सिंहले दुई/दुई विकेट लिए । 

त्यसअघि अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ३४ रन बनायो । उसका लागि शुभमन गिलले आक्रामक शतक बनाए । ६३ बलको सामना गरेका उनले सात छक्का र १२ चौकासहित अविजित १२६ रन बनाए । टी–२० अन्तर्राष्ट्रियमा गिलको यो पहिलो शतक हो ।

योसँगै उनले इतिहास रचेका छन् । गिलले भारतको तर्फबाट टी–२० अन्तर्राष्ट्रियमा उच्च स्कोर बनाउने ब्याटर बन्दै इतिहास रचेका हुन् । यसअघि यो रेकर्ड पूर्वकप्तान विराट कोहलीको नाममा थियो । उनले गत वर्षको एसिया कपमा अफगानिस्तानविरुद्ध अविजित १२२ रनको पारी खेलेका थिए ।

त्यस्तै, राहुल त्रिपाठीले २२ बलमा चार चौका र तीन छक्काको मद्दतमा ४४ रन बनाए । कप्तान हार्दिक पाण्ड्याले ३० र सूर्यकुमार यादवले २४ रनको योगदान दिए ।



न्युजिल्याण्डका लागि डारियल मिचेल, इश सोढी, माइकल ब्रेसवेल र ब्लेयर टिकनरले एकरएक विकेट लिए । सिरिजको पहिलो खेलमा न्युजिल्याण्डविरुद्ध भारत २१ रनले पराजित हुँदा दोस्रो म्याचमा भने ६ विकेटले विजयी भयो ।



  • प्रकाशित मिति : माघ १९, २०७९ बिहीबार ७:११:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया