मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रीमण्डल विस्तार गरेका छन् । गठबन्धन दलहरू मध्येका नेकपा माओवादी केन्द्रलाई सरकारमा सहभागी नगराई मुख्यमन्त्री यादवले नेकपा एमाले, जनता समाजवादी पार्टी र जनमतलाई समेटेर मन्त्रीमण्डल विस्तार गरेका हुन् ।
प्रदेश सरकारको ६ वटा मन्त्रालयको भागबन्डा गरेर मुख्यमन्त्री यादवले मन्त्रीमण्डल विस्तार गरेका छन् । जसअनुसार जसपाबाट सुरिता कुमारी साहलाई सामाजिक विकास र सिंहासन साह कलवारलाई खानेपानी तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यस्तै नेकपा एमालेबाट राजकुमार लेखी कानुन न्याय तथा प्रदेशसभा मामिला मन्त्री बनेका छन् । जनमत पार्टीबाट संसदीय दलका नेता महेश प्रसाद यादवले शिक्षा, विज्ञान प्रविधि तथा वाणिज्य मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
शत्रुधन प्रसाद सिंहलाई गृह तथा सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ भने मो. जयद खाँ आलमलाई महिला, बालबालिका युवा तथा खेलकुद मन्त्री बनाइएको छ ।
त्यस्तै, राज्यमन्त्रीहरूमा शेख अबु कलाम आजादलाई सामाजिक विकास मन्त्रालय, आज मात्र नेकपा एमालेमा प्रवेश गरेका केशव राय चौधरीलाई गृह तथा सञ्चार राज्यमन्त्री र संजयकुमार यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त गरिएको छ ।
मुख्यमन्त्री सरोजकुमार यादवले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित उद्योग, पर्यटन तथा वन मन्त्रालय आफैंसँग राखेका छन् । गत पुस २९ गते तीन जना बिना विभागीय मन्त्रीसहित मन्त्रीपरिषद् गठन गरेका मुख्यमन्त्री यादवले तीन सातापछि मन्त्रीमण्डललाई पूर्णता दिएका छन् ।
यसअघि मुख्यमन्त्री यादवले माघ १२ गते नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जनता समाजवादी पार्टी नेपालका संजय यादवलाई अर्थ मन्त्रालय र जनमत पार्टीका बसन्त कुशवाहालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइसकेका छन् । नवनियुक्त मन्त्रीहरूले आजै शपथ ग्रहणसमेत गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।