नाइजेरियामा चौपाया चोर समूहद्वारा ४१ जनाको हत्या

नाइजेरियाको अशान्त उत्तरी क्षेत्रमा चौपाया चोर्ने एक समूहले जंगलमा लुकीछिपी आक्रमण गरी ४१ जनाको हत्या गरेको खुलेको छ । यो घटना बिहीबार कात्सिना राज्यमा भएको प्रहरीले पुष्टि गरेको हो ।

गत बुधबार एक स्थानीयबाट चौपाया चोरेको गिरोहलाई पत्ता लगाउन परिचालन गरिएका बकोरी जिल्लाका विभिन्न गाउँका सयौँ स्वयंसेवकहरू आक्रमणकारीको निशानामा परेका हुन् । 

कात्सिना राज्यका प्रहरी प्रवक्ता गाम्बो इसाहले शुक्रबार अबेर राति चोरहरूले आक्रमण गर्दा ४१ जनाको मृत्यु हुनुका साथै अन्य दुईजना घाइते भएको जनाएका छन् । ‘स्थानीय स्वयंसेवकलाई कलाश्निकोभ राइफलसहित गाउँलेको सुरक्षाका लागि खटाइएको थियो,’ उनले भने, ‘हुलहुज्जतले ४१ जना यान्साकाईलाई गोली हानेर मारेका छन् । दुईजना घाइते भएका छन् ।’

प्रहरी प्रवक्ता इसाहले अगाडि थपे, ‘दोषीलाई कारबाहीको दायरामा ल्याउने उद्देश्यले अहिले संयुक्त सुरक्षा अभियान चलिरहेको छ ।’ स्थानीय प्रत्यक्षदर्शीका अनुसार यार्गोजे जङ्गलमा भएको आक्रमणमा परी ५२ जनाको मृत्यु भएको छ । स्थानीय इदरीस उस्मानले भने, ‘प्रहरीले बिहीबार र शुक्रबारको बीचमा जङ्गलमा गएर दुई समूहमा ५२ जनाको शव ल्याएको थियो ।’  

उनका अनुसार अन्य दर्जनौं सवयंसेवक सुरक्षा दस्तालाई पनि घाइते अवस्थामा अस्पताल ल्याइएको छ । अर्का स्थानीय अब्दुल्लाही सदाले आक्रमणकारीहरू छिमेकी जाम्फारा राज्यबाट आएका बताइएको छ । उत्तरपश्चिम र मध्य नाइजेरियाका कैयौं राज्यहरूमध्ये कात्सिना पनि एक हो, जसलाई आपराधिक गिरोहले आतङ्कित बनाएको छ । 

उक्त गिरोहले गाउँहरूमा छापा मार्छ, बासिन्दाहरूको हत्या गर्छ, फिरौतीको लागि अपहरण गर्छ, गाईवस्तुहरू चोरी गर्छ र लुटपाट पछि घरहरू जलाउँछ ।



यो गिरोहले कात्सिना, जाम्फारा, कादुना र नाइजर राज्यको विशाल जङ्गलमा क्याम्प सञ्चालन गर्दै आएको छ । बकोरी र कांकारासहित कात्सिनाको दक्षिणी भाग जाम्फाराको सीमा नजिक पर्छ र छिमेकी राज्यमा आधार क्षेत्र बनाई जाम्फारामा बारम्बार निशाना बनाउने गर्छ ।

सन् २०२१ को डिसेम्बरमा कनकारामा ३०० भन्दा बढी विद्यालयका केटाकेटीको अपहरण भएको थियो । विद्यार्थीहरूलाई जाम्फारा लगिएको थियो । फिरौती तिरेपछि भने बालबालिकालाई छोडिएको थियो । त्यसपछि स्थानीय समुदायहरूले आपराधिक गिरोहहरूको आक्रमणविरुद्ध लड्न सतर्कता समूहहरू गठन गरेका छन् । 



  • प्रकाशित मिति : माघ २२, २०७९ आइतबार ९:१०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया