भूकम्प प्रभावित टर्कीमा नेपालीको अवस्था के छ?

टर्कीमा सोमबार बिहान गएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प कारण ठूलो जनधनको क्षति भएको छ । समाचार संस्था एपीका अनुसार भूकम्पका कारण अहिलेसम्म टर्कीमा ३९ सय मानिसको मृत्यु भइसकेको छ ।​

भूकम्पमा परी हजारौं  घाइते र सयौं मानिस बेपत्ता छन् । बीबीसीका अनुसार उद्धारकर्मीहरूले अत्यधिक चिसो र हिउँका बाबजुद भग्नावशेषको थुप्रोमा जीवितहरूको खोजी गरिरहेका छन् । विश्वभरबाट विज्ञ समूह, तालिम प्राप्त कुकुर र विविध उपकरणहरूसहित उद्धारका लागि सहयोग पठाउने क्रम जारी छ । 

टर्कीमा पढाइ र रोजगारीका लागि केही नेपाली रहेका छन् । अहिलेसम्म उनीहरू सुरक्षित रहेको जानकारी प्राप्त भएको टर्कीस्थित गैर–आवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । एनआरएनए टर्कीका महासचिव विनोद श्रेष्ठका अनुसार आफ्नो सम्पर्कमा आएका नेपालीहरू सेल्टरमा सुरक्षित छन्  । 

भूकम्प प्रभावित क्षेत्रमा रहेका नेपालीसँग सम्पर्क बढाउने प्रयास जारी नै रहेको श्रेष्ठले बताए । दुबईबाट इरान हुँदै इस्तानबुलबाट युरोप छिर्न टर्कीलाई नेपालीले ट्रान्जिट देशका रूपमा प्रयोग गर्दै आएकाका छन् । टर्की मामिला हेर्ने पाकिस्तानस्थित नेपाली दूतावासले अहिलेसम्म नेपाली भूकम्पमा परेको विवरण आइनसकेको जनाएको छ ।   

पाकिस्तानका लागि नेपाली राजदूत तपास अधिकारीले आफूहरूले नेपालीबारे सूचना संकलन गरिरहेको जानकारी दिए । उनका अनुसार अहिलेसम्म नेपालीको कुनै अप्रिय खबर आएको छैन । राजदूत अधिकारीअनुसार टर्कीमा ३५ सयदेखि ४ हजारको संख्या नेपाली रहेका छन् ।  



उनीहरू मुख्य रूपमा अङ्कारा र इस्तानबुलमा बस्ने गरेका उनले बताए । गाजियान्टेपलाई इपिसेन्टर बनाएर आएको भूकम्पले अदाना, मलातिए, ओसमानिया, एस्केमदेरन, किलिस, साम्ले उर्फासहित १० क्षेत्रमा क्षति गरेको छ । 



टर्की र सिरियाको यस क्षेत्रमा १ सय वर्षभन्दा लामो अवधिमा पहिलोपटक यति ठूलो भूकम्प गएको छ । यसअघि सन् १९९९ मा शक्तिशाली भूकम्प जाँदा टर्कीमा १८ हजार मानिसको मृत्यु भएको थियो । 

  • प्रकाशित मिति : माघ २४, २०७९ मंगलबार ९:३६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया