रास्वपाको बैठक बस्दै, चितवन-२ को उम्मेदवार टुंगो लगाउने सम्भावना

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल र केन्द्रीय समितिको बैठक आजका लागि बोलाइएको छ । 

दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बोलाइएको बैठकमा समसामयिक राजनीतिक अवस्था र चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको तयारीबारे छलफल हुने बताइएको छ ।

आइतबार निर्वाचन आयोगले चितवन–२ मा आगामी १० वैशाखमा उपनिर्वाचन गर्ने मिति घोषणा गरेपछि रास्वपाको बैठक बसिरहेको हो । आजको बैठकले चितवन–२ मा रास्वपाबाट उठ्ने उम्मेदवारको टुंगो लगाउनसक्ने सम्भावना छ । 

गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा चितवन–२ बाट पार्टी सभापति रवि लामिछाने विजयी भएका थिए । तर, नागरिकता विवादका कारण सर्वोच्च अदालतले उनको सांसदबाट पद खारेज गर्‍यो । 

अदालतको सोही निर्णयका कारण चितवन–२ मा उपनिर्वाचन हुन लागेको हो । रास्वपाबाट चितवन–२ को उपनिर्वाचनमा फेरि पनि लामिछाने नै उम्मेदवार हुने सम्भावना बढी छ । 

उनी ४ मंसिरको निर्वाचनमा भारी मतान्तरका साथ विजयी भएका थिए । लामिछानेले निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले हराएका थिए ।



लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ मत ल्याए । त्यस्तै, तेस्रो भएका नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत प्राप्त गरे ।



  • प्रकाशित मिति : फागुन १, २०७९ साेमबार ९:४९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया