मधेस केन्द्रित साना पाँच दलहरूबीच पार्टी एकता हुने भएको छ ।
सोमबार जनकपुरधामस्थित तराई–मधेश लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकले तराई–मधेश लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, ऐतिहासिक जनता पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र राष्ट्रीय सद्भावना पार्टीबीच एकता गर्ने सहमति भएको हो ।
तमलोपाका वरिष्ठ नेता डा. विजयकुमार सिंहको अध्यक्षतामा बसेको सो बैठक यी पार्टीहरूबीच सहकार्यका निमित्त साझा मुद्दाहरूको पहिचानमा केन्द्रित रहेको तमलोपाका केन्द्रीय सदस्य उमेश मण्डलले जानकारी दिए ।
बैठकले सहकार्यको निमित्त अवधारणापत्र र अन्य दस्तावेज तयार गर्न कार्यदलसमेत गठन गरेको नेता मण्डलले जानकारी दिए ।
कार्यदलमा तमलोपाबाट सतीशलाल दास, नेपाल सद्भावना पार्टीबाट डा. रवीन्द्र चौधरी (राजेश), नेपाल लोकतान्त्रिक पार्टीबाट डा. कृष्णचन्द्र साह, राष्ट्रिय सद्भावना पार्टीबाट रविन्द्र सिंह र ऐतिहासिक जनता पार्टीबाट आनन्द साह रहेका छन् ।
यी पाँच पार्टीहरूले गत माघ १७ गते आपसमा एकता र सहकार्य अगाडि बढाउने निर्णय गरेका थिए ।
आजको बैठकमा तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल, नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतो, ऐतिहासिक जनता पार्टीका अध्यक्ष बद्रीनारायण ठाकुर, नेपाल लोकतान्त्रिक पार्टीका सह–अध्यक्ष सुरेश प्रसाद गुप्ता, राष्ट्रिय सद्भावना पार्टीका प्रवक्ता राजेश्वर ठाकुर, तमलोपाका सतीश लाल दास, धिरेन्द्र सिंह, योगेन्द्र राय, भोलानाथ झा, बिभा ठाकुर, बिमला साहलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।