विश्वकप लिग–२ : नामिबियाविरुद्ध फिल्डिङ गर्दै नेपाल
फरकधार / २ फागुन, २०७९
यो सामग्री सेयर गर्नुहोस्

आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक सिरिजअन्तर्गत नामिबियाविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोजेको छ । नेपाल र नामिबियाबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा ९ बजेदेखि सुरु हुँदैछ । 



सिरिजमा नेपाल पाहुना टोली नामिबियालाई हराउँदै सुखद सुरुवात गर्न चाहन्छ । यद्यपि लिग–२ मा राम्रो लयमा रहेको नामिबियालाई हराउन नेपाललाई सहज भने पक्कै छैन । अहिलेसम्म लिग–२ मा नामिबियाले ३० म्याच खेल्दा १८ मा जित, ११ मा हार तथा एक खेलमा अंक बाँडेको छ । ऊ ३७ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । यता नेपाल भने तालिकाको छैटौँ स्थानमा छ ।  



सबैभन्दा कम २४ खेल खेलेको नेपालले १४ मा हार, आठमा जित र दुई खेलमा अंक बाँडेको छ । तालिकामा सुधार गर्न नेपालले घरेलु सिरिजमा उत्कृष्ट प्रदर्शन गर्नुको विकल्प छैन । 



हालसम्म नेपाल र नामिबियाको चार अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा भेट भएको छ । जसमा नेपालले नामिबियालाई हराउन सकेको छैन । यी दुई टोलीले पहिलोपटक ११ जुलाई २०२२ मा एकदिवसीय खेलेका थिए । सो खेलमा नेपाल ४० रनले पराजित भएको थियो ।



सोही वर्षको १६ जुलाईमा भएको खेलमा नामिबियासँग नेपाल ६३ रनले पराजित हुन पुग्यो । नेपाल र नामिबियाबीच तेस्रोपटक २ डिसेम्बर २०२२ मा भेट भयो । तर, सो खेलमा वर्षा बाधक बन्दा म्याच रद्द भयो । नेपाल र नामिबियाले चौथोपटक गत वर्षको ७ डिसेम्बरमा खेलेका थिए । सो म्याचमा नेपाल ८६ रनले पराजित हुन पुग्यो ।

यसपटक भने नामिबियाविरुद्धको हारको यात्रा नेपाल अन्त्य गर्न चाहन्छ । घरेलु मैदानमा खेल्न लागेकाले पनि नेपाललाई यसपटक त्यो लक्ष्य भेट्टाउन केही सहज छ । साथै, प्रमुख स्पिनर सन्दीप लामिछानेको कमब्याकले पनि नेपाललाई केही राहत मिलेको छ । 



गत भदौमा एक नाबालिगले जबर्जस्तीकरणीको जाहेरी दिएपछि सन्दीप मैदान बाहिर थिए । अहिलेसम्म उनको मुद्दा किनारा लागिसकेको छैन । यद्यपि उच्च अदालत पाटनले गत पुसमा २० लाख धरौटीमा रिहा गर्न आदेश दियो ।  

अदालतले विदेश जान नपाउनेसहित केही सर्तका साथ सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । उनी ६ महिनापछि मैदानमा फर्किन लागेका हुन् । 



सन्दीप नेपालका लागि टी–२० र एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने बलर हुन् । हालसम्म उनले ४४ टी–२० मा ८५ र ३० एकदिवसीय खेलमा ६९ विकेट लिएका छन् ।  

  • प्रकाशित मिति : फागुन २, २०७९ मंगलबार ८:३४:१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया