आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजअन्तर्गत नामिबियाविरुद्ध नेपाली टिमका ओपनिङ ब्याटर कुशल भुर्तेलले शतक पूरा गरेका छन् । उनले ९९ बलमा ९ चौका र चार छक्काको मद्दतमा शतक पूरा गरेका हुन् ।
एकदिवसीय अन्तर्राष्ट्रियमा कुशलको यो पहिलो शतक हो । यसअघि यो प्रारूपमा उनको उच्च स्कोर ८४ रन थियो । त्यस्तै, आजकै खेलमा उनी र कप्तान रोहितकुमार पौडेलले एकदिवसीयमा कीर्तिमानी साझेदारी पनि गरे ।
उनीहरूबीच तेस्रो विकेटका लागि १३३ रनको साझेदारी बन्यो । नेपालको तर्फबाट एकदिवसीयमा यो अहिलेसम्मकै ठूलो साझेदारी हो । गत वर्ष कीर्तिपुरस्थित त्रिवि मैदानमै पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध देव खनाल र दीपेन्द्र सिंह ऐरीले १२९ रनको साझेदारी गरेका थिए ।
त्यस्तै, रोहित एकदिवसीय अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बनेका छन् । नामिबियाविरुद्ध ५५ रन बनाएलगत्तै उनले यो उपलब्धि हासिल गरेका हुन् । रोहितले ३३ खेलमा १ हजार रन पूरा गरे । हालसम्म रोहितले एकदिवसीय अन्तर्राष्ट्रियमा एक शतक र ६ अर्धशतकीय पारी खेलेका छन् ।
उनी नेपालको तर्फबाट एकदिवसीयमा उच्च स्कोर बनाउने ब्याटर पनि हुन् । यो प्रारूपमा रोहितको उच्च स्कोर १ सय २६ रन हो । उनले गत चैतमा कीर्तिपुरस्थित त्रिवि मैदानमा पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध सात चौका र चार छक्काको सहयोगमा १ सय २६ रन बनाए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।