विश्वकप लिग–२ : नामिबियाविरुद्ध नेपालको ऐतिहासिक जित

आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नामिबियाविरुद्ध नेपाल २ विकेटले विजयी भएको छ । मंगलबार भएको खेलमा नामिबियाले दिएको २ सय ८६ रनको कीर्तिमानी लक्ष्य नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो ।

एकदिवसीयमा नेपालको यो ऐतिहासिक जित हो । यसअघि नेपालले २ सय ८६ रनको लक्ष्य पूरा गर्न सकेको थिएन । साथै, एकदिवसीय अन्तर्राष्ट्रियमा नामिबियाविरुद्ध नेपालको यो पहिलो जित पनि हो । नेपाललाई ऐतिहासिक जित दिलाउने क्रममा ओपनिङ ब्याटर कुशल भुर्तेलले शतकीय पारी खेले । 

११३ बलको सामना गरेका उनले १० चौका र चार छक्कासहित ११५ रन बनाए । एकदिवसीयमा कुशलको यो पहिलो शतक हो । यसअघि यो प्रारूपमा उनको उच्च स्कोर ८४ रन थियो । 

त्यस्तै, सन्दीप जोराले २८, ज्ञानेन्द्र मल्लले २५ र करण केसीले अविजित २० रन जोडे । नामिबियाका लागि रुबेन ट्रम्पलम्यान र जेन निकोल लोफ्टी-इटनले सर्वाधिक तीन/तीन विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ८५ रन बनायो ।

उसका लागि माइकल भान लिङ्गेनले शतकीय पारी खेले । १३७ बलको सामना गरेका उनले ५ छक्का र ९ चौकासहित १ सय ३३ रन बनाए ।  

एकदिवसीय करियरमा लिङ्गेनको यो करियरकै उच्च स्कोर हो । कप्तान गेहार्ड इरास्मसले ७९ बलमा तीन छक्का र दुई छक्काको सहयोगमा ५६ रन बनाए । 



यस्तै, जेन ग्रीनले ३४, चार्ल्स बर्केनस्टक, जन फ्राइलिंकले १३/१३ र रुबेन ट्रम्पलम्यानले ११ रन जोडे । बलिङमा करण केसीले १० ओभरमा एक मेडनसहित ६१ रन दिएर ५ विकेट लिए ।

उनले तेस्रोपटक एकदिवसीयमा ५ विकेट लिएका हुन् । त्यस्तै, पूर्वकप्तान सन्दीप लामिछानेले १० ओभरमा ६६ रन दिएर ३ विकेट लिए । ६ महिनापछि मैदान फर्किएका उनको कमब्याक राम्रो रह्यो । 



गत भदौमा एक नाबालिगले जबर्जस्तीकरणीको उजुरी दिएपछि सन्दीप ६ महिना मैदान बाहिर थिए । गत पुसमा पाटन अदालतले धरौटीमा छोड्न आदेश दिएपछि भने उनी पुनः मैदान फर्किएका हुन् । 

त्यस्तै, कुशल मल्ल र सोमपाल कामीले एक/एक विकेट हात पारे ।सिरिजमा नेपालले दोस्रो खेल शुक्रबार स्कटल्याण्डविरुद्ध खेल्ने तालिका छ ।

  • प्रकाशित मिति : फागुन २, २०७९ मंगलबार १७:११:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया