बसपार्कमा लुटपाट गर्नेलाई कारबाहीको माग गर्दै सांसदहरूले भने -  सरकार मौन बस्न मिल्दैन
फाइल तस्बिर

प्रतिनिधिसभाको आजको बैठकमा सांसदरुले यही फागन १ गते काठमाडौंको बालाजुमा भएको चोरी र लुटपाटको घटनाको यथार्थ छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभा बैठकको आजको शून्य समयमा बोल्दै उनीहरूले चुस्त सुरक्षाको व्यवस्था गर्नसमेत सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा सांसद सूर्य थापाले बालाजुमा भएको घटनाको यथार्थ विवरण संसद्लाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए । उनले काठमाडौंको मुटुमा भएको उक्त घटनाका बारेमा सरकार मौन बस्न नमिल्ने बताए ।
 
सांसद विराजभक्त श्रेष्ठले अमानवीय लुटपाटको घटनाका दोषीलाई कडा कारबाही गर्दै पीडितलाई क्षतिपूर्ति दिन आग्रह गरे । सांसद शिशिर खनालले मजदुर आन्दोलनको नाममा बसपार्कमा भएको लुटपाटमा संलग्न व्यक्तिहरुलाई कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए ।
 
सांसद शङ्कर भण्डारीले गत फागुन १ गते बासपार्कमा व्यवसायीका सामान लुटपाटमा संलग्नलाई पक्राउ गरी दोषीलाई काम कारबाही गरेर पीडितलाई क्षतिपूर्ति दिन माग गरे । सांसद ज्ञानबहादुर शाहीले घटनाका बारेमा अवगत गराउँदै तत्काल चुस्त सुरक्षाको वयवस्था प्रत्याभूत गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद ज्ञानु बस्नेत सुवेदीले किसानले आफ्नो उत्पादनको उचित मूल्य नपाएकोप्रति आवश्यक व्यवस्था गर्न माग गरिन् । सांसद बनिताकुमारी सिंहले मधेसवासीको सुविधाका लागि निर्माण गरिएको हुलाकी राजमार्ग निर्माणमा ढिलाइ भएकोप्रति सरकारको ध्यानाकर्षण गराइन् । सांसद विश्वप्रकाश शर्माले दैनिक आत्महत्या गर्ने क्रम वृद्धि हुँदै गएको र मानसिक समस्या र झन्झटिलो प्रशासनिक सेवालाई नियन्त्रण गर्नुपर्ने माग गरे ।
    
सांसद शक्तिबहादुर बस्नेतले संविधानले आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुने भनिएता पनि निःशुल्न पाइने भनिएका औषधि सरकारी अस्पतालबाट नपाएको हुनाले तत्काल व्यवस्था गर्न माग गरे । सांसद शोभा ज्ञवालीले बर्दियामा बनेको पुल केही समयमै बिग्रिएको जानकारी गराउँदै तत्काल निर्माणका लागि सरकारको ध्यानाकर्षण गराए ।
 
सांसद सरस्वती सुब्बाले काठमाडौं सुकुम्वासीलाई हटाउनुअघि उनीहरुको आवासको हकको सुनिश्चित गर्न माग गरिन् । सांसद सरिता प्रर्साईँले किसानले अतिआवश्यक पर्ने मल र बीउ समयमा नपाएको अवस्था भएको हुनाले किसानको समस्याप्रति ध्यान दिन सरकारको ध्यानाकर्षण गराइन् ।
 
सांसद सरिता भुसालले नवलपरासीका उखु किसानले लामो समयदेखि रकम भुक्तानी नभएको जानकारी गराउँदै उक्त किसानको भुक्तानी तत्काल दिन माग गरिन् । सांसद शान्ति चौधरीले बर्दिया, कैलाली, कञ्चनपुरमा सोनाहा जातिलाई आदिवासी र अल्पसङ्ख्यक जातिमा सूचीकृत गर्न माग गरिन् ।
 
सांसद सुमना श्रेष्ठले जनगणना भएको महिनौँ बितिसक्दा पनि त्यसको पूर्ण प्रतिवेदन सार्वजनिक नभएको हुँदा सरकारी नीति निर्माणमा कठिनाइ भएको भन्दै तत्काल सार्वजनिक गर्न माग गरिन् ।
 
सांसद सुरेन्द्रराज आचार्यले कपिलवस्तुमा छाडा गाईगोरुका कारण कृषक मारका परेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराए । सांसद सोविता गौतमले सुलभ कर्जा नपाउँदा धेरै मानिसहरुले समस्या परेको हुनाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिइन् ।
 
सांसद हितराज पाण्डेले शान्ति प्रक्रियाका बाँकी रहेका काम अविलम्ब सम्पन्न गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए। सांसद हेमराज राईले जनताले समृद्धिका मताधिकारअनुसार काम गर्न आग्रह गरे । 

यसैगरी सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीको बराह मन्दिरमा नदी कटानले सङ्कटग्रस्त हुँदै गएको जनाउँदै यसको संरक्षणको माग गरे । सांसद सन्तोष चालिसेले शिवपुरी आरक्ष क्षेत्रमा रहेको चेकपोष्टका कारण स्थानीयले गाउँबस्ती जान पनि शुल्क तिर्नुपर्ने अवस्था रहेको जनाउँदै ‘चेकपोष्ट’ तत्काल हटाउन माग गरे । बैठक जारी छ ।





  • प्रकाशित मिति : फागुन ३, २०७९ बुधबार १२:५९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया