दक्षिण अफ्रिकामा जारी आइसिसी महिला टी–२० विश्वकपमा भारतले लगातार दोस्रो जित निकालेको छ । समूह ‘बी’ रहेको भारतले दोस्रो जित निकाल्ने क्रममा बुधबार राति वेस्ट इण्डिजलाई ६ विकेटले हरायो ।
पहिलो खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले हराएको थियो । दोस्रो खेलमा वेस्ट इण्डिजले दिएको १ सय १९ रनको लक्ष्य १८।१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
उसका लागि ऋचा घोषले अविजित ४४, कप्तान हरमनप्रीत कौरले ३३, शफाली वर्माले २८ र स्मृति मन्धानाले १० रन जोडे । वेस्ट इण्डिजका लागि हेली म्याथ्यूज, करिश्मा रामहरक र चिनेल हेनरीले एक–एक विकेट लिए ।
त्यसअघि केप टाउनस्थित न्युल्याण्ड्समा टस जितेर ब्याटिङ रोजेको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १८ रन बनायो । उसका लागि स्ट्याफनी टेलरले ४२, शेमेन क्याम्पबेलले ३०, चेडियन नेशनले अविजित २१ र शविका गजनबीले १५ रन बनाए ।
भारतका लागि दीप्ती शर्माले चार ओभरमा १५ रन दिएर सर्वाधिक तीन विकेट लिइन् । रेणुका सिंह र पूजा वस्त्रकारले एक–एक विकेट हात पारे ।
यो जितपछि पनि भारत अंक तालिकाको दोस्रो स्थानमा छ । समूह ‘बी’ को शीर्ष स्थानमा इंग्ल्याण्ड छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।