दक्षिण अफ्रिकामा जारी महिला टी–२० विश्वकपमा पाकिस्तानले पहिलो जित निकालेको छ । समूह ‘२’ मा रहेको पाकिस्तानले पहिलो जित निकाल्ने क्रममा गएराति सम्पन्न खेलमा आयरल्याण्डलाई ७० रनले हरायो । पहिलो खेलमा पाकिस्तानले भारतसँग ७ विकेटको हार बेहोरेको थियो ।
आयरल्याण्डको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा ऊ इंग्ल्याण्डविरुद्ध ४ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा पाकिस्तानले दिएको १ सय ६६ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको आयरल्याण्डले १६.३ ओभरमा ९५ रन मात्र बनाउन सक्यो । उसका लागि ओर्ला प्रेन्डरगास्टले ३१, एमियर रिचर्डसनले २८ र गेबी लुईसले १० रन बनाए ।
पाकिस्तानका लागि नशरा सन्धुले चार ओभरमा १८ रन दिएर सर्वाधिक चार विकेट लिइन् । त्यसअघि केप टाउनस्थित न्युल्याण्ड्स मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६५ रन बनायो ।
उसका लागि ओपनिङ ब्याटर तथा विकेटकिपर मुनीबा अलीले शतकीय पारी खेलिन् । ६८ बलको सामना गरेकी उनले १४ चौकाको सहयोगमा १०२ रन बनाइन् । मुनीबा जारी विश्वकपमा शतक बनाउने पहिलो ब्याटर हुन् ।
त्यस्तै, निदा डारले ३३ रन बनाउँदा बाँकी ब्याटर भने सस्तैमा आउट भए । आयरल्याण्डका लागि अर्लेन केलीले सर्वाधिक दुई विकेट लिइन् ।
यो जितसँगै तेस्रो स्थानमा रहेको पाकिस्तानले दुई अंक जोडेको छ । अंकविहीन रहेको आयरल्याण्ड भने पुछारमा रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।