राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बुधबार राति ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका कांग्रेस सांसद डा. चन्द्र भण्डारी र उनकी आमाको उपचारमा कमी हुन नदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अनुरोध गरेका छन् ।
उनले आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भण्डारी आमा–छोराको उपचारमा कुनै कमी नहोस् भनेर अनुरोध गरेका हुन् । साथै, लामिछानेले आफू र आफ्नो पार्टीको तर्फबाट सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
‘प्रिय चन्द्र भण्डारी दाइ, म अन्तरआत्मादेखि नै तपाईँ र ममतामयी आमाको स्वास्थ्यलाभको कामना गर्दछु । तपाईँको उपचारमा कुनै कमी नहोस् है भनेर भर्खरै प्रधानमन्त्री ज्यूलाई पनि विनम्र अनुरोध गरेको छु । सिङ्गो पार्टीसमेत तपाईँको शीघ्र स्वस्थलाभको कामना गर्दछ,’ लामिछानेले फेसबुकमा लेखेका छन् ।
चिकित्सकका अनुसार आमाको ७० प्रतिशत र सांसद भण्डारीको ३० प्रतिशत शरीरको भाग जलेको छ । उनीहरूलाई थप उपचारका लागि भारत पठाउने तयारी भइरहेको छ ।
कीर्तिपुर अस्पतालले पनि देश बाहिर लगेर उपचार गर्न सिफारिस दिइसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।