प्रधानमन्त्री प्रचण्डको आह्वान- शैक्षिक जनशक्तिको पलायन रोक्न सबै गम्भीर बनौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शैक्षिक जनशक्तिको बढ्दो विदेश पलायनलाई रोक्न सबै जिम्मेवार बन्नुपर्ने बताएका छन् । सोमबार कास्कीको लेखनाथमा आयोजित पोखरा विश्वविद्यायलको दीक्षान्त समारोहमा उनले विदेश पलायन हुने जनशक्तिलाई रोजगारी र सीपका माध्यमले स्वदेशमै बस्नसक्ने वातावरण निर्माण गर्नुपर्ने बताएका हुन् । 

‘विश्व बजारमा प्रतिस्पर्धी र अब्बल प्रमाणित गर्न ताईहरूबीच चुनौतीका चाङ भए पनि धैर्य, संयमित र दूरदर्शि भएर पोखरा विश्वविद्यालयलगायत मुलुककै प्रतिष्ठा उँचो राख्नुहुनेछ भन्ने आशा र विश्वास मैले राखेको छु । विभिन्न कारणले विदेश पलायन हुने जनशक्तिलाई रोजगारी र सीपका माध्यमले स्वदेशमै बस्नसक्ने वातावरण निर्माण गर्ने महत्वपूर्ण अभिभारा तपाईंहरूको काँधमा पनि छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।   

उनले पोखरा विश्वविद्यालयले शिक्षा, स्वास्थ्य, पर्यटन र उद्योगका विविध पक्षलाई सम्बोधन गरी आफ्ना नीति तथा कार्यक्रमलाई विस्तार गर्नुपर्ने पनि बताए ।

‘राज्यले प्राथमिकताको क्षेत्र निर्धारण गरेका विषयहरूमा अध्ययन अध्यापन तथा अनुसन्धानलाई जोड दिँदै शिक्षा, स्वास्थ्य, पर्यटन र उद्योगका विविध पक्षलाई सम्बोधन गरी पोखरा विश्वविद्यालयले आफ्ना नीति तथा कार्यक्रमहरूलाई विस्तार गर्दै लैजानुपर्छ । विद्यार्थी संख्याका दृष्टिले यो त्रिभुवन विश्वविद्यालयपछिको दोस्रो ठूलो विश्वविद्यालय हो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘दक्ष जनशक्ति उत्पादनका दृष्टिले पनि यसको स्थान अब्बल छ । बर्सेनि सीमान्तकृत, पिछडिएका विपन्न परिवारका सयौंको संख्यामा विद्यार्थीहरूलाई निःशुल्क छात्रवृत्ति दिनु भनेको सामान्य विषय होइन । विश्वविद्यालय जुन उद्देश्यलाई आत्मसात गर्दै अघि बढिरहेको छ, त्यसमा राज्यको पूर्ण समर्थन र सहयोग रहनेछ भन्नेमा ढुक्क हुन म सबैमा हार्दिक आग्रह गर्दछु ।’  

उनले सरकार संघीय शिक्षा ऐन ल्याउने अन्तिम तयारीमा रहेको पनि बताए । ‘वर्तमान सरकार नेपालको संविधानले व्यवस्था गरे बमोजिम निःशुल्क शिक्षाको हकलाई व्यवहारमा कार्यान्वयन गर्न संघीय शिक्षा ऐनको अन्तिम तयारी गरिरहेको छ । संघीय शिक्षा ऐनमार्फत शिक्षा क्षेत्रका नीतिगत, संस्थागत, संरचनागत र कार्यगत चुनौती एवं समस्या सम्वोधन हुने अपेक्षा गरिएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।  





  • प्रकाशित मिति : फागुन ८, २०७९ साेमबार १४:६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया