राष्ट्रपति पद कांग्रेसले पाउनुपर्छ भन्नेमा म छैन, लडेर लिने हो : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपति पद कांग्रेसले पाउनुपर्छ भन्नेमा आफू नरहेको बताएका छन् । 

सिन्धुलीमाडीमा कांग्रेस प्रदेश २ (१)ले सोमबार आयोजना गरेको सहिद सम्मान तथा प्रशिक्षण कार्यक्रममा बोल्दै कोइरालाले कांग्रेसले राष्ट्रपति जितेर देखाउने ठोकुवा गरे । उनले भने, ‘नेपाली कांग्रेसको उम्मेदवार हुन्छ र जित्छ । यसमा म ढुक्क छु । नेपाली कांग्रेसले पाउने हैन, लिने हो ।’

आफू र पार्टी सभापति शेरबहादुर देउवाबीच केही कुरा चित्त नबुझे खुलस्त भन्ने गरेको, तर तल्लो निकायमा यो यसको मान्छे, यो त्यसको मान्छे भनेर कित्ताकाट हुने गरेको भन्दै उनले चिन्ता व्यक्त गरे । नेता कोइरालाले गाउँ र जिल्ला तहमा भएको गुटगत राजनीतिले कांग्रेस कमजोर बन्दै गएकोमा उनको चिन्ता थियो । 

पार्टीभित्र फरक मत राख्न छाडेर अन्य दलसँग सहकार्य गर्दै हिँड्नु पार्टीका लागि घातक हुने नेता कोइरालाको टिप्पणी थियो । कोही एमालेसँग, कोही माओवादीसँग, कोही मधेसका दलसँग नजिकिने तर आफ्नै साथीसँग पानी बाराबारको अवस्था हुने अवस्थाले कांग्रेसलाई घाटा पुर्‍याउने उनको ठहर छ । 

कार्यक्रममा योजना आयोगका पूर्वउपाध्यक्षद्वय डा. गोविन्दराज पोखरेल र अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले पनि सहभागी थिए । उनीहरुले लोकतन्त्रको शुद्धीकरण नै नयाँ कांग्रेस र नयाँ नेपालको प्रस्थानविन्दु रहेको बताए । 

आगामी पुस्तालाई स्वाभिमानी नेपाली भएर बाँच्नसक्ने बनाउन राजनीतिबाट हरेक नागरिकले अपेक्षा राखेको उनीहरुको भनाइ थियो । 





  • प्रकाशित मिति : फागुन ८, २०७९ साेमबार १९:४१:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया