निजी अस्पताललाई सेवामुखी भएर काम गर्न मधेस सभामुख मण्डलको आग्रह

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले निजी अस्पताललाई सेवामुखी भएर काम गर्न आग्रह गरेका छन् । उनले निजी क्षेत्रका संस्थाले समाजबाट व्यवसायिक रुपमा लाभ लिइरहँदा समाजप्रतिको दायित्वसमेत नबिर्सिन आग्रह गरेका छन् ।

सोमबार जनकपुरधामस्थित मैक्स लाइफ हस्पिटलमा पूर्वाञ्चल क्यान्सर अस्पतालले आयोजना गरेको निःशुल्क क्यान्सर शिविरको उद्घाटन गर्दै सभामुख मण्डलले निजी अस्पताललाई व्यवसायीमुखीभन्दा पनि सेवामुखी भएर समाजका लागि काम गर्न आग्रह गरेका हुन् ।
 
उनले भने, ‘अहिले समाजमा नीजि अस्पताल, निजी बैंक, निजी विद्यालय, होटेललगायतका संस्था जथाभावी रुपमा खोलिए पनि समाजमा उनीहरुको लगानी देखिँदैन । यस्तो अवस्थामा समाजप्रतिको दायित्वभन्दा पनि नाफामुलक व्यवसायले समाजमा नकारात्मक सोचको विकास भइरहेको छ ।’
 
उनले निजी संस्थाहरुले समाज विकासोन्मुख कार्यहरुमा लगानी लगाउनुपर्ने र सेवाभावले कम शुल्कमा जनतालाई सेवा दिन जरुरी रहेको बताए । 

पूर्वाञ्चल क्यान्सर अस्पतालले जनकपुरधाममा आएर क्यान्सरको रोगीहरु पत्ता लगाउने कार्य सराहनीय रहेको बताउँदै उनले सेवाभावले काम गर्नु समाजप्रति कर्तव्यबोध समेत रहेको बताए ।

स्वास्थ्य शिविरमा पूर्वाञ्चल क्यान्सर अस्पताल तथा बिएनसी मेडिकल कलेजका निराजन प्रसाईं, मैक्स लाइफका मेडिकल डाइरेक्टर कृष्णकुमार साह, पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर वीरेन्द्र यादवलगायत सहभागी थिए ।

यस शिविरमा ११० जना बिरामीको निःशुल्क स्वास्थ्य चेकजाँच गरिएको मैक्स लाइफ अस्पतालले बताएको छ ।





  • प्रकाशित मिति : फागुन ८, २०७९ साेमबार १९:५४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया