केपी ओली र माधव नेपालबीच भेटवार्ता, पार्टी एकतासहित राष्ट्रपतिको उम्मेदवार बन्न नेपाललाई ओलीको प्रस्ताव

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच आइतबार भेटवार्ता भएको छ । भेटमा ओलीले नेपाललाई राष्ट्रपति पदको उम्मेदवार बन्न प्रस्ताव गरेका छन् । 

आइतबार दिउँसो महाराजगन्जमा दुई दलका अध्यक्षबीच भेट भएको स्रोतले बताएको छ । एमाले अध्यक्ष ओलीले नेपाललाई पार्टी एकतासहित राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका हुन् ।

राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा सोमबारै प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि नेता नेपालसँग भेट गरेका थिए । सो भेटलगत्तै प्रचण्ड पार्टीको पदाधिकारी बैठकमा सामेल भएका थिए । 

बैठकले राष्ट्रपतिको बारेमा निर्णय गर्ने अधिकार दाहाललाई दिएको छ । उनले वर्तमन गठबन्धनलाई कायम राख्दै राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्ने दाबी गर्दै आएका छन् । 

नेपालले गत ०७८ को भदौमा एमालेबाट विद्रोह गरेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका थिए । ओली र नेपालबीचको आइतबारको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । 

एमाले अध्यक्ष ओलीले नेपाल मात्र होइन, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई पनि राष्ट्रपतिका लागि प्रस्ताव गरेका छन् । 



ओलीले आफ्नो अनुकूलको उम्मेदवार बनाउन पाएको खण्डमा एमालेबा वाग्मतीका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, स्थायी कमिटी सदस्य गुरु बराल, विष्णु रिमाललगायतलाई राष्ट्रपतिमा अघि सार्ने मनसाय राखेका थिए । माओवादी अध्यक्ष दाहालको अडानका कारण ओली कांग्रेससमेतलाई अफ्ट्यारोमा पार्ने गरी नयाँ उम्मेदवारको खोजीमा लागेका हुन् । 



  • प्रकाशित मिति : फागुन ८, २०७९ साेमबार २२:४५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया