विश्वकप लिग–२ : स्कटल्याण्डलाई हराएर इतिहास रच्ने दाउमा नेपाल

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिदेशीय एकदिवसीय सिरिजमा नेपालले आज स्कटल्याण्डको सामना गर्दैछ । नेपाल–स्कटल्याण्डबीचको खेल बिहान ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुँदैछ । 

सिरिजमा नेपाल लगातार चौथो जित निकाल्दै नयाँ उपलब्धि हासिल गर्न चाहन्छ । हालसम्म लिग–२ सिरिजमा कुनै पनि टोलीले चारवटै खेल जित्न सकेको छैन । यसपटक नेपाल घरेलु मैदानको फाइदा उठाउँदै नयाँ उपलब्धि हासिल गर्ने योजनामा छ । 

जारी श्रृंखलाको पहिलो खेलमा नेपालले नामिबियालाई २, दोस्रो र तेस्रो खेलमा स्कटल्याण्ड र नामिबियालाई समान ३ विकेटले हरायो । नेपाल अन्तिम खेलमा लिग–२ च्याम्पियन स्कटल्याण्डलाई हराउँदै आफ्नो लय कायमै राख्ने योजनामा छ ।

स्कटल्याण्ड पनि सुखद अन्त्य गर्न चाहन्छ । लिग–२ मा उसका लागि यो अन्तिम खेल हो । ३५ म्याच खेलिसकेको स्कटल्याण्ड ५० अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । छैटौँ स्थानमा रहेको नेपालको २४ अंक छ ।  

नेपालले २७ म्याच खेल्दा ११ मा, १४ मा हार तथा दुई खेलमा अंक बाँडेको छ । शीर्ष तीनमा रहेर सिधै एकदिवसीय विश्वकप खेल्न नेपालले अब ९ म्याचमै जित निकाल्नुको विकल्प छैन । 

प्लेइङ–११ मा एक परिवर्तनको सम्भावना



नेपालले स्कटल्याण्डविरुद्ध प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गर्ने सम्भावना छ । आजको खेलमा नेपालले गुल्शन झाको स्थानमा सूर्य तामाङलाई मौका दिनसक्छ ।  यदि स्कटल्याण्डविरुद्ध सूर्यले मौका पाए उनको यो डेब्यू खेल हुनेछ ।  

जारी श्रृंखलामा नेपालका लागि बलिङमा सन्दीप लामिछाने चम्किँदा ब्याटिङमा, कुशल भुर्तेल, कुशल मल्ल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल र दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट पारी खेलेका छन् । 



नेपालको सम्भावित प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र सूर्य तामाङ ।

  • प्रकाशित मिति : फागुन ९, २०७९ मंगलबार ७:३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया