आफू राष्ट्रपति भए एमालेसँग पार्टी एकता गर्ने ओलीलाई नेपालको ‘वाचा’
फाइल तस्वीर ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले आफूलाई राष्ट्रपतिमा निर्वाचित गराएमा पार्टीलाई नेकपा एमालेसँग एकता गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वाचा गरेका छन् ।

एमाले अध्यक्ष ओलीसँग गम्भीर असहमति जनाउँदै ८ भदौ २०७८ मा नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका नेपाल राष्ट्रपति बन्ने चाहनामा फेरि ओलीसँग नजिकिन थालेका छन् । 

यसैको परिणाम हो, ६ फागुन २०७९ मा महाराजगन्जमा यी दुई नेताबीच भएको लामो छलफल । 

राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियतामा सम्भव भएको यो छलफल नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’को महाराजगन्जस्थित घरमा भएको थियो । 

यही छलफलमा ओलीले नेपाललाई भनेका थिए– सल्लाह गरेर अगाडि बढ्न सकिन्छ, पार्टी एकतासम्मको कुरा गरौँ । नेपालले ओलीको यो प्रस्तावमा सहजै जवाफ दिए– ठोस प्रस्ताव आओस्, पार्टी एकता गर्न सकिन्छ ।

ओलीले यसअघि नै बालकोटमा भएको प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रपतिको उम्मेदवारमा नेकपा एमालेको तर्फबाट माधवकुमार नेपालको नाम लिइसकेका थिए । त्यो भेटमा प्रचण्डले ओलीले लिएका नेकपा एमालेका नेताहरु ईश्वर पोखरेल, विष्णु रिमाल, केशव बडाल, डोरमणि पौडेल तथा सुवास नेम्वाङ कसैलाई पनि राष्ट्रपति दिन सकिने संकेत गरेका थिएनन् ।



आफूसँगको गठबन्धन छाडेर प्रचण्ड नेपाली कांग्रेससँग सहकार्य गर्न जान सक्ने संकेत पाइसकेका ओलीले त्यसपछि बल्ल अस्त्र फालेका थिए– त्यसो हो भने माधवकुमार नेपाल वा झलनाथ खनाललाई राष्ट्रपति बनाऔँ ।

४ मंसिरमा भएको निर्वाचनलगत्तै आफ्नो उमेर राष्ट्रपति बन्ने भएको बताएका माधवकुमार नेपालको नाम लिँदा प्रचण्डले अस्वीकार गर्ने सम्भावना नहुने र यसलाई राष्ट्रिय सहमतिको नाम पनि दिन सकिने ओलीले विकल्पका रुपमा प्रस्तुत गरेका थिए, नेपाललाई भावी राष्ट्रपतिका रुपमा । नेपाललाई अगाडि सारेर अहिलेको गठबन्धन जोगाउन सबैभन्दा सहज हुने र आफूले नेपालसँग पनि संवादको चरण सुरु गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई बताइसकेकी थिइन् ।



ओलीको प्रस्ताव सुनेर प्रचण्ड बालकोटमा झस्किए । १० पुसमा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले बारम्बार नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउन चाहेका थिए । तर, ओलीले प्रचण्डको यो प्रस्ताव मानेनन् । बरु, नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता गर्ने पहल सुरु गरेको भन्दै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई समेत ओलीले सरकारमा जानबाट रोकिदिए ।

तर, पछिल्लो समय ओलीले तिनै नेपाललाई राष्ट्रपतिका रुपमा अगाडि सारेका छन् ।

यसका कारण विभाजनमा परेको नेकपा एमाले फेरि एक हुने सम्भावना बढेको छ । ओली र नेपालको भेटको तारतम्य मिलाएका एकीकृत समाजवादीका सांसद किसान चाहिँ अहिलेसम्म पार्टी एकताको टुंगो नलागेको दाबी गर्छन् ।

‘अहिले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउनु पर्छ भन्ने हाम्रो पार्टीको अजेन्डा हो,’ फरकधारसँग कुरा गर्दै उनले भने, ‘भोलि यसले अरु विभिन्न चरणहरु पार गरिहाल्छ । एकताको प्रयास पनि पक्कै हुन्छ, पार्टी एक हुनुपर्छ । तर, अहिले नै यसबारे टुंगो लागिसकेको छैन ।’

  • प्रकाशित मिति : फागुन १०, २०७९ बुधबार ४:२१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया