हात्तीपाइले रोगको प्रभावलाई रोक्न सरकार काम गर्छ : मन्त्री साह

मधेस प्रदेशका सामाजिक विकासमन्त्री सुरिताकुमारी साहले प्रदेशका पाँचवटा जिल्लामा रहेको हात्तीपाइले रोगको प्रभावलाई रोक्न सरकार तत्पर रहेको बताएकी छन् । 

बिहीबार जनकपुरधाममा हात्तीपाइले रोग निवारण कार्यक्रम २०७९ को आम औषधि खुवाउने अभियानको शुभारम्भ गर्दै मन्त्री साहले यस रोगलाई रोक्नका लागि स्वास्थ्यकर्मीहरु सजग हुनुपर्ने आवश्यकता रहेको बताइन् । 

मन्त्री साहले यस कार्यमा स्थानीय तहहरुलाई पनि समन्वय गर्न आग्रह गरेकी छन् । उनले प्रदेशमा हात्तीपाइले रोगलाई आउन नदिन हरसम्भव उपायहरु अपनाउन सरोकारवाला सबैसँग अनुरोध गरिन् । उनले भनिन्, ‘यो रोग समुदायमा गएपछि हामीलाई अप्ठ्यारो हुन्छ । त्यसैले वडास्तरसम्म पनि कार्यक्रमहरु गरेर रोगलाई आउन नदिन सबै सचेत हुनु पर्दछ ।’

स्वास्थ्य कार्यालय धनुषाका प्रमुख युगल किशोर यादवको अध्यक्षतामा आयोजित अभियान शुभारम्भ कार्यक्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुणा झाले हात्तीपाइले रोग नेपालबाट उन्मुलन हुन नसकेको बताइन् । उनले अहिले मधेस प्रदेशका पाँचवटा जिल्लामा यसका रोगी रहेको र ति जिल्लाहरुका दुई प्रतिशत भन्दा बढि व्यक्तिमा रोगको लक्षण देखिएको सर्वेक्षण गरिएको जानकारी दिइन् । 

धनुषा जिल्लामा रोगीको संख्या न्यून रहेपनि महोत्तरीको म्टिहानीमा भने यो संख्या तुलनात्मक रुपमा अत्यधिक रहेको उनले जानकारी दिइन् । डा. झाले औैषधि खाएर यसलाई कन्ट्रोल गर्न सकिने र एकचोटी खाएमा रोगको प्रभाव ०.४ प्रतिशत रुक्ने बताइन् ।  

कार्यक्रममा नेपाली कांग्रेस मधेस प्रदेशका प्रमुख सचेतक कुमर कान्त झा, जिसस धनुषाका प्रमुख राजनन्दन मण्डल, धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालसहितकाहरुको उपस्थिती रहेको थियो । 



धनुषामा आजदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै
धनुषामा आजदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन थालिएको छ । जिल्लामा रोगको प्रकोप बढ्दै गएपछि प्रतिरोधात्मक औषधि घर–घरमा गएर खुवाइने व्यवस्था मिलाइएको छ ।
आजदेखि स्वास्थ्यकर्मीहरू घरघरमा पुगेर ३ वर्षदेखि माथि उमेरका सबैलाई उचाइ, वजनअनुसार औषधि खुवाउन लागेको जिल्ला स्वास्थ्य कार्यालय धनुषाले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय धनुषाका स्वास्थ्य अधिकृत शिवजी दासले दुई वर्ष मुनिका बालबालिका, गर्भवती महिला, ७ दिनसम्मका सुत्केरी, छारे रोगी, सिकिस्त बिरामी तथा २४ घण्टा अगाडी ज्वरो आएका व्यक्तिले मात्र औषधि खान नमिल्ने जानकारी दिए ।



आगामी चैत महिनामा घर–घरमा गएर म्यापिङ्ग गरि रोगको वास्तविक तथ्यांक संकलन गरिने उनले बताए । महोत्तरीमा हात्तीपाईले रोगको बिरामी फेला परेपछि धनुषामा समेत औषधि खुवाउने अभियान सञ्चालन गरिएको हो ।

धनुषा, महोत्तरी र सिन्धुली गरी तीन जिल्लाको इमप्लिटेसन युनिट रहेकाले महोत्तरीमा हात्तीपाइले रोग फेला परेपछि युनिट नै फेल भएको निष्कर्ष निकाल्दै पुनः अभियान चलाउन थालिएको हो । आजदेखि स्वास्थ्यकर्मीहरूको प्रत्यक्ष सहभागिता तथा निगरानीमा हात्तीपाइले रोगविरुद्धको तीन प्रकारको औषधि खुवाउन थालिएको छ ।

  • प्रकाशित मिति : फागुन ११, २०७९ बिहीबार १२:७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया