प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ज्ञानलाई विज्ञानसँग जोडेर मात्र विश्वविद्यालयको शिक्षा गुणस्तरीय हुने बताएका छन् । बिहीबार दिउँसो बालुवाटारमा राजर्षि जनक विश्वविद्यालयको छैटौँ सभामा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
‘यो विश्वविद्यालय एकातर्फ हाम्रो प्राचीन सभ्यता, संस्कृति र सांस्कृतिक धरोहरप्रतिको हाम्रो अगाध आस्था र विश्वासको द्योतक हो भन्ने अर्कोतर्फ विगतमा ज्ञान–विज्ञानको क्षेत्रमा समृद्ध भूमिको रूपमा परिचित मधेश प्रदेशलाई पुनः ज्ञान विज्ञानको केन्द्रको रूपमा विकास गर्ने सरकारको नीतिको सम्पुष्टिसमेत हो,’ उनले भने ।
प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयको संख्यात्मक वृद्धिसँगै शिक्षाको गुणस्तरमा पनि ध्यान दिनुपर्नेमा जोड दिए । ‘मुलुकमा विश्वविद्यालयहरूको संख्या बढ्दै जानु राम्रो कुरा हो । यसले उच्च शिक्षामा सबैको सहज र सरल पहुँच स्थापित गर्न मद्दत पुग्दछ । तर विश्वविद्यालयको संख्यात्मक वृद्धिसँगै शिक्षाको गुणस्तर पनि उच्च बनाइराख्ने कार्य चुनौतीपूर्ण छ । यस कुरालाई मध्यनजर गर्दै यस विश्वविद्यालयले आफूलाई गुणस्तरको क्षेत्रमा अब्बल साबित गर्नुपर्दछ,’ उनले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।