कर्मचारी र न्यायाधीश अभावले उच्च अदालत जनकपुरको न्याय सम्पादन प्रभावित

उच्च अदालत जनकपुरमा कर्मचारी र न्यायाधीश अभावले न्याय सम्पादन प्रभावित भएको छ । उच्च अदालत जनकपुरले जनशक्तिको अभावमा मुद्दा फैसलाको काम अपेक्षा गरेअनुसार अघि बढ्न नसकेको जनाएको हो । 

उच्च अदालत जनकपुरका उपरजिष्ट्रार उद्धव ढोंडारीले जनशक्तिको व्यवस्थापनमा ढिलाई हुँदा मुद्दा फैसलाको काम प्रभावित भएको बताएका छन् । उनले यहाँ १२ जना न्यायाधीशको दरबन्दी रहेपनि ७ जना मात्रै कार्यरत रहेको जानकारी दिए । न्यायाधीश अभावका कारण उच्च अदालत जनकपुरमा दैनिक ६ वटा बेन्चमा ३ वटा बेन्च मात्रै बस्दै आएको उनले बताए । 

कार्यसम्पादनका लागि आफूहरू बिहान ७ बजे अदालत आउने र बेलुकी ६ बजेसम्म सेवा दिने गरेको ढोंडारीले बताए । उनले दैनिक ३ सयको संख्यामा सेवाग्राही आउने गरे पनि ६०/६५ वटासम्म मात्र मुद्दाको पेसी हुने गरेको जानकारी दिए । 

५ जना न्यायाधीशको पदपूर्ति गरिए आगामी दिनमा न्यायिक निरुपणलाई शीघ्रता दिन सकिने उनको विश्वास छ । स्वच्छ सुनुवाइ र छिटोछरितो न्याय सम्पादनका लागी समयवद्ध तालिका बनाएर कार्ययोजनासहितको न्याय निरुपणमा लाग्ने उनले बताए ।

वैकल्पिक ऊर्जाको अभाव 
उच्च अदालत जनकपुरमा वैकल्पिक ऊर्जाको अभावका कारण कामकाज प्रभावित हुने गरेको छ ।  गर्मी मौसमको सुरुवात भएसँगै अब विद्युत कटौति पनि बढ्ने भएकोले उच्च अदालत जनकपुरको कामकाज प्रभावित हुने देखिन्छ । 

उच्च अदालत जनकपुरका उपरजिष्ट्रार उद्धव ढोंडारीले विद्युत कटौती हुँदा अति आवश्यक बयानहरू कर्मचारीको व्यक्तिगत ल्यापटपबाट लिनुपर्ने वाध्यता रहेको सुनाए । उनले यहाँ सोलार भए पनि ब्याट्रीहरू पुरानो हुँदा कामै नलाग्ने अवस्थामा पुगेको बताए । 



उनले पेपरलेस कामहरु जस्तै आदेश तयार गर्ने, फैसला लेखन कार्यलगायतका कामहरू विद्युत कटौती हुँदा प्रभावित हुने गरेको जानकारी दिए ।  उनले भने, ‘विद्युत कट्दा कार्यालयको अधिकांश कोठामा पंखासमेत चल्ने अवस्था हुँदैन । कर्मचारीहरू गर्मीमै काम गर्न बाध्य हुन्छन् । हामीलाई धेरै पीडा छ । सुन्ने कोही छैनन् ।’

यसअघि अर्थ मन्त्रालयले मेसिनरी खरिद, मरम्मत सम्भारलगायतका शीर्षकमा ३ लाख रुपैयाँ बजेट विनियोजन गरे पनि त्यसबाट अधिकांश पैसा फिर्ता गइसकेको एक कर्मचारीले बताए । 



त्यस्तै, जनकपुरधाम उपमहानगरपालिकाले पनि फोटोकपी मेसिन, ब्याट्री र एसी खरिदलगायतका लागि १२ लाख रुपैयाँ उपलब्ध गराउने भनिए पनि उपमहानगरका लेखा अधिकृत नन्दकुमार झा निलम्बनमा पर्दा समस्या भएको उपरजिष्ट्रार ढोंडारीले बताए ।

  • प्रकाशित मिति : फागुन ११, २०७९ बिहीबार १५:२२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया