ग्रिल खसाएर बालकलाई मारेको परिवारजनको आरोप

जनकपुरधाममा घरको ग्रिल खसाएर एक बालकलाई मारेको बालकका परिवारजनले आरोप लगाएका छन् । 

जनकपुरधाम उपमहानगरपालिका–११ कन्या पाठशाला बस्ने आलम राइनका तीन वर्षीय कान्छो छोरा अलि हुसैनको शरीरमाथि स्थानीय बाबा पेट्रोल पम्पका सञ्चालक विष्णुदेव साहका छोरा विवेक साह र बुहारी सोनम साहले घरको ग्रिल जानीजानी खसाएर मारेको आरोप लगाइएको हो । 

मृतक बालकका काका मजरुल राइनले आफ्नो भतिजलाई जानीजानी मारेको आरोप लगाएका छन् । उनले बाबा पेट्रोल पम्पका सञ्चालक विष्णुदेव साहका ३२ वर्षीय छोरा विवेक कुमार साह र ३० वर्षीया बुहारी सोनम साहले आफ्नो भतिजलाई मारेको दाबी गरे । 

उनले भने, ‘शुक्रबार दिउँसो करिब साढे ४ बजेको समयमा जनकपुरधाम–११ कन्या पाठशालादेखि धनुषा पथ जाने ढलान सडकमा उनको घर अगाडि खेलिरहेका मेरा भतिज आलमको जिउमा पर्नेगरी जानीजानी ढोका धकेल्दा च्यापिएर मृत्यु भएको हो ।’

उनले विगतदेखि नै साहको घर अगाडि बच्चाहरु खेलकुद गर्दा गालीगलौज गर्नुका साथै ज्यान मार्ने धम्कीसमेत दिँदै आएको बताए । शुक्रबार विवेकले बालकलाई मार भन्दै आफ्नो पत्नीलाई आदेश दिएपछि घरको फलामको मूलढोका आफ्नो भतिजको जिउमाथि खसालेको उनले आरोप लगाए । 

शुक्रबार घटना घटे पनि प्रहरीले अहिलेसम्म मुद्दा दर्ता गर्न नमानिरहेको मजरुलको गुनासो छ । मृतक बालकका बुवा आलम राइन वैदेशिक रोजगारीमा छन् । मृतक बालकका आफन्तले आक्रोशित हुँदै शनिबार साहको घरअगाडि टायर बालेर विरोध प्रदर्शनसमेत गरेका थिए । 



यता, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रकाश गौतमले प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान गरिरहेको जानकारी दिएका छन् । उनले प्रहरीले मृतकको परिवारजनको उजुरीपश्चात् घटना सम्बन्धमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाउने बताए ।
 



  • प्रकाशित मिति : फागुन १३, २०७९ शनिबार १९:५५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया