‘अफ्रिकन स्वाइन फिवर’ कारण चितवनमा ३ हजार बंगुर मरे
फाइल तस्बिर

‘अफ्रिकन स्वाइन फिवर’ का कारण चितवनका १२ खोरका २ हजार ८७३ बंगुर मरेका छन् । भरतपुर महानगरपालिका, खैरहनी, रत्ननगर नगरपालिका र इच्छाकामना गाउँपालिकामा पालिएका ती बंगुर मरेका हुन् । 

भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र भरतपुरका सूचना अधिकारी डा. प्रभात न्यौपानेका अनुसार भरतपुर–३ मा तीन, रत्ननगरमा चार, इच्छाकामनामा तीन र खैरहनीमा दुई फार्ममा रहेका बंगुरमा फिवर फैलिएपछि पूर्णरूपमा खोर खाली भएको हो ।

यो रोगका कारण जिल्लामा २ हजार ८७३ बंगुर मरेका छन् । तीमध्ये वयस्क १ हजार ९१६ वटा र ९५७ पाठापाठी हुन् । ६ करोड २२ लाख ६५ हजार बराबरको क्षति भएको कार्यालयले जनाएको छ ।

यो रोग गत साउन महिनाबाट जिल्लामा देखिएको हो । अफ्रिकन स्वाइन फिवर घरपालुवा सुँगुर, बँदेल, बंगुर प्रजातिमा भाइरसबाट लाग्ने उच्च मृत्युदर भएको अति खतरनाक सरुवा रोग हो ।

रोग सङ्क्रमित सुँगुर बंगुरबीच प्रत्यक्ष सम्पर्कबाट, रोगी बंगुरको  र्‍याल, मलमूत्र, रगत, मासु र लसपस भएको दानापानीबाट, बिरामी बंगुरको ओसारपसार वा किनबेच गर्दा, सङ्क्रमित खोरमा काम गर्ने कामदार र सङ्क्रमित खोरमा गएको मानिसले प्रयोग गरेको लुगाकपडा, जुत्ताचप्पल आदि प्रयोग गर्दा सर्नसक्ने सूचना अधिकारी न्यौपानेले जानकारी दिए । 





  • प्रकाशित मिति : फागुन १५, २०७९ साेमबार १०:२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया