मिथिलाको बहुचर्चित सांस्कृतिक उत्सव ‘मिथिला माध्यमिकी परिक्रमा’मा सहभागी श्रद्धालुहरू सोमबार भगवान् राम र माता सीताले त्रेतायुगमा अबिर दलेर होली खेलेको स्थल कञ्चनवन पुगेका छन् ।
ध्रुवकुण्डबाट पदयात्रा गर्दै परिक्रमाबासीहरू सोमबार बिहान महोत्तरीको भङ्गहा नगरपालिका–९ हरिनमरीस्थित कञ्चनवन पुगेका हुन् । धनुषाको ठेरा कचुरीस्थित मिथिलाबिहारी मठबाट सोमबारदेखि सुरु भएको मिथिला माध्यमिकी परिक्रमा पहिलो दिन हनुमानगरमा विश्राम गर्दै मंगलबार बिहान कल्याणेश्वरको लागि प्रस्थान गरेको थियो ।
मंगलबार यात्रीहरूले कल्याणेश्वर स्थान (कलना), बुधबार गिरिजास्थान, बिहीबार मटिहानी, शुक्रबार जलेश्वर शनिबार मडै र आइतबार ध्रुवकुण्डमा विश्राम गरेका थिए । परिक्रमामा सहभागीहरू मंगलबार पर्वता, बुधबार धनुषाधाम, बिहीबार औरही, शुक्रबार विशौल हुँदै शनिबार पुनः कल्याणेश्वर र त्यसपछि पूर्णिमाका दिन आइतबार जनकपुरधाम फर्कने छन् ।
कञ्चनवनमा इच्छावती गंगा र वीरजा गंगाको संगमस्थल रहेको छ । इच्छावती नदीले भगवान् रामलाई होली उत्सव मनाउन सहयोग गरेको जनविश्वास रहेको पाइन्छ । यो स्थानमा भगवान् राम र माता जानकीले होली पर्व मनाएका थिए । यहाँ परिक्रमामा सहभागी अबिरको होली खेल्ने गर्छन् ।
परिक्रमामा मिथिलाबिहारीको डोलासँगै कञ्चनवन पुगेका परिक्रमामा सहभागीले एक अर्कालाई अबिर दलेर होली पर्व मनाएका छन् । कञ्चनवनमा परिक्रमामा सहभागीले अबिर खेलेपछि मिथिलाञ्चलमा होली पर्वको आगमन भएको मानिन्छ ।
परिक्रमा डोला कञ्चनवनमा पुगेपछि होली खेल्ने परम्परा रहेको संस्कृतिविदहरू बताउँछन् । त्यहाँको होली मिथिलाञ्चलका अधिकांश मठमन्दिरका महन्थ, सामाजिक, सांस्कृतिक, राजनीतिक क्षेत्रमा आवद्ध व्यक्तिहरुको सहभागिता हुन्छ ।
फागुन शुक्ल प्रतिपदाबाट सुरु हुने मिथिला मध्यमा परिक्रमा फागुन शुक्ल सप्तमीमा मिथिला विहारीको डोलासँगै ध्रुवकुण्डबाट कञ्चनवन पुग्ने गर्छ । किशोरीजी डोलाका प्रमुख महन्थसमेत रहेका नवलकिशोर शरणले भने, ‘जुन होली कञ्चनवनमा हुने गरेको छ त्यस्तो मिथिलाञ्चलमा कतै हुँदैन । एकातिर रंगअबिर, अर्कोतर्फ होरैया गान, फेरी हजारौं सहभागिता देखिने गर्छ । यहाँको होली आनन्दमय हुन्छ ।’
कञ्चनवन प्रवेश गर्ने परिक्रमा यात्रीलाई भङ्गहा नगरपालिकाले भव्य स्वागत गरेको नगरप्रमुख संजिव साहले बताए । स्वागतको लागि ठाउँठाउँमा प्रवेशद्वार, पण्डाल, आवासको व्यवस्था गरिएको छ । उनका अनुसार तीर्थालुका लागि पुवा, खीर, सर्वत, अबिर, फूलमालाको व्यवस्था गरिएको छ भन होली मिलन समारोह र सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको छ ।
यसैबीच, परिक्रमा यात्रीलाई स्वागत गर्न भङ्गहा नगरपालिकाले आजलाई सार्वजनिक बिदा घोषणा गरेको छ । आज परिक्रमा यात्री तीर्थालुहरु कञ्चनवनमा विश्राम गर्ने हुँदा नगरभर सार्वजनिक बिदा दिइएको नगरप्रमुख साहले जानकारी दिए ।
कञ्चनवनमा त्रेतायुगमा भगवान राम र सीताले अबिर खेलेर होली मनाएको धार्मिक विश्वास छ । आज पनि यहाँ आएका श्रद्धालुहरुले एक–अर्कालाई रंग, अबिर लगाएर होली खेलेका छन् ।
वसन्त ऋतुको आगमनसँगै फागुन शुक्ल प्रतिपदाबाट सुरू हुने यो महाकुम्भ १५ दिनमा जनकपुरधाम पुगेर फागु पूर्णिमाको दिन परिक्रमा सम्पन्न गरिने परम्परा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।