जनकपुरधाममा आजदेखि होरी महोत्सव र महामूर्ख सम्मेलन

जनकपुरधाममा दुई दिने होली महोत्सव २०७९ सुरु भएको छ । सोमबार मिथिला नाट्य कला परिषद् जनकपुरधामको आयोजनामा सुरु भएको होली महोत्सवको पहिलो दिन लोप भइरहेको होलीको जोगिरा गीत प्रतियोगिता भयो ।

डेढ दर्जन होरैया समूहको सहभागिता रहेको होली महोत्सवमा विभिन्न जिल्लाका होरैया समूह सहभागी थिए । होली महोत्सवमा सहभागी भएका होरैया टोलीलाई मिथिला नाट्यकला परिषद्ले पुरस्कृत पनि गर्दै आएको छ । प्रथम, द्वितीय तथा तृतीय हुने समूहलाई नगद, शिल्ड तथा प्रमाणपत्र प्रदान गर्ने गरिन्छ ।

होली महोत्सवको उद्घाटन जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव, जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहलगायतले संयुक्तरूपमा गरेका थिए  ।

जानकी मन्दिरको प्राङ्गणमा सुरु भएको दुई दिने कार्यक्रमअन्तर्गत आज महामूर्ख सम्मेलनको आयोजना हुँदैछ । दुई दिवसीय होली महोत्सवअन्तर्गत मङ्गलबार आयोजना हुने महामूर्ख सम्मेलन सबैको आकर्षणको केन्द्रको रूपमा रहेको हो । महामूर्खको उपाधिका लागि विभिन्न व्यक्ति दौडमा रहेको मिथिला नाट्यकला परिषद्का महासचिव शैलेन्द्र मल्लिकले बताए ।

महासचिव मल्लिकका अनुसार दोस्रो दिन मङ्गलबार विशिष्ट शैलीमा उद्घाटन, मिनापको हास्य शैलीको व्यङ्ग्यपूर्ण नाट्य प्रस्तुती, मिनापद्वारा होरी गायन, हास्य कवि गोष्ठी, सम्मान, मूर्ख एवं महामूर्खको उपाधि वितरणका साथै मूर्ख र महामूर्खलाई सम्मान तथा प्रेमोपहार वितरण गरिने बताए । 

विसं २०६१ देखि जनकपुरधाममा महामूर्ख सम्मेलनको आरम्भ गरिएको थियो ।  





  • प्रकाशित मिति : फागुन २३, २०७९ मंगलबार ७:५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया