प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुँदैछ । बिहीबार हुने भनिएको सुनुवाइ समय अभावका कारण ‘हेर्न नभ्याइने’ मा राखिएको छ ।
द्वन्द्वकालीन घटनाका सम्बन्धमा दाहालको अभिव्यक्तिलाई लिएर प्रचण्डविरुद्ध मंगलबार अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित १४ जना र चिरञ्जिवीवास गिरीले दायर गरेका छुट्टाछुट्टै रिट दायर गरेका थिए ।
ती रिट सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा बिहीबार पेसी तोकिएको थियो । प्रधानमन्त्री दाहाल, मन्त्रिपरिषद्को कार्यालय, गृह, रक्षा र कानुन मन्त्रालयलगायतलाई विपक्षी बनाइएको रिटमा दाहाललाई पक्राउ गरी आवश्यक अनुसन्धानको प्रक्रिया अघि बढाउने अन्तरिम आदेशको माग गरिएको छ ।
द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक कारबाही गर्न आदेश माग गर्दै अधिवक्ता आरण र रामेछापका कल्याण बुढाथोकीले कात्तिकमा दिएको रिट सर्वोच्च प्रशासनले बदर गरे पनि गत शुक्रबार न्यायाधीश ईश्वर खतिवडा र हरिकृष्ण फुयालको इजलासले दर्ता गर्न आदेश दिएको थियो ।
उक्त इजलासले सुनुवाइ गर्दै दरपीठ गर्ने निर्णय बदर गरी रिट दर्ता गर्न भनेको थियो । त्यसपछि मंगलबार आरण र गिरीले प्रचण्डविरुद्ध अनुसन्धान गर्न माग गर्दै छुट्टाछुट्टै रिट दर्ता गरेका हुन् ।
प्रचण्डले ०७६ को माघीको अवसरमा काठमाडौंको खुलामञ्चमा आयोजित कार्यक्रममा आफूलाई १७ हजार मान्छे मारेर आएको भनिए पनि त्यो कुरा सत्य नभएको बताएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।