श्री एयरलाइन्सले उडान गर्न पाउने, शनिबारदेखि नियमित उडान हुने
फाइल फाेटाे

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले श्री एयरलाइन्सको उडान फुकुवा गरेको छ ।

प्राधिकरणका प्राविधिकबाट उक्त एयरलाइन्सको उडानमा रहेका जहाजको आज प्राविधिक सुरक्षा जाँचपछि उडान फुकुवा गर्ने निर्णय गरेको हो । प्राधिकरणले आज बिहान श्री एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको थियो ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार प्राधिकरणले दिएका सुझावको कार्यान्वयन गर्ने गरी एयरलाइन्सको उडान फुकुवा गरिएको छ । ‘श्री एयरलाइन्सको उडान फुकुवा भयो, तर एयरलाइन्सले सेफ्टी म्यानेजमेन्ट सिस्टम लागू गर्नुपर्छ र आज प्राविधिक जाँचपछि देखिएका विषय र प्राधिकरणका सुझाव पालना गर्नुपर्ने सर्तमा उडान फुकुवा गरिएको हो,’ उनले भने ।

श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले प्राधिकरणबाट पुनःउडान अनुमति पाएसँगै शनिबारदेखि नियमित उडान सञ्चालन गरिने बताए । उनले भने, ‘प्राधिकरणले आजै पुनःउडान सञ्चालनको अनुमति दिएको छ । अबेर साँझ निर्णय आएकाले भोलि शनिबारदेखि मात्रै उडान गर्ने निर्णय भएको छ ।’ 

व्यवस्थापक मानन्धरका अनुसार प्राधिकरणको विज्ञ टोलीले उडानमा रहेका श्रीका सबै जहाजको प्राविधिक जाँच, इन्जिनियरिङ अपरेसन, सुरक्षा तथा कम्पनीको वित्तीय स्थिति र प्रशासनिक क्षमतासमेतको अध्ययन गरेको थियो ।

आजका लागि पूर्वनिर्धारित सबै १४ उडान स्थगित भएको र यसबाट करिब दुई हजार यात्रु मर्कामा परेको कम्पनीले जनाएको छ ।



बिहीबार काठमाडौंबाट भैरहवा उडान भरेको जहाजको इन्जिनमा आगो लागेको सङ्केत देखिएपछि उक्त जहाजलाई पुनः त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर सुरक्षित अवतरण गरिएको थियो । श्री एयरलाइन्सका साना–ठूला गरी आठ वटा जहाज छन् । तीमध्ये चार वटा मात्रै सञ्चालनमा छन् । 



  • प्रकाशित मिति : फागुन २६, २०७९ शुक्रबार २०:१५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया