हाल देशका केही स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका केही स्थानमा हल्का वर्षा भइरहेको हो।
शुक्रबार बिहान देशका केही स्थानमा वर्षा भइरहेको छ । आज बिहान बर्दिया, गोरखा, नुवाकोट, मकवानपुरलगायत स्थानमा वर्षा भइरहेको हो । महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार आज दिनभरि नै मौसममा बदली हुनेछ ।
आज दिनभरजस्तो बादल लाग्ने भन्दै कतैकतै सामान्य घाम लागे पनि केही बेरमै बादलले छोप्ने उनले जानकारी दिइन् । मौसमविद् कँडेलका अनुसार आज काठमाडौंमा दिउँसो १–२ बजेपछि हल्का वर्षाको सम्भावना छ । तर, लामो समयसम्म र ठूलो पानी नपर्ने उनले जानकारी दिइन् ।
अबका एक/दुई दिन देशभर मौसममा बदली हुने उनको भनाइ छ । देशका केही स्थानमा दिउँसोको समयमा पानी पर्ने सम्भावना बढी हुने उनले बताइन् ।
आज तराईका केही जिल्लामा हावाहुरीको पनि सम्भावना रहेको उनले बताइन् । उनले आज सामान्य अवस्थामा भन्दा केही बढी हावाहुरी चले पनि ठूलै असर भने नगर्ने उनले स्पष्ट पारिन् ।
महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव छ । देशको पहाडी भू–भागका केही स्थान तथा तराई भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ तथा हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।