सत्तापक्ष र प्रतिपक्षी दलका सांसद मिलेर राष्ट्रिय मर्यादासम्बन्धी गैरसरकारी विधेयक संघीय संसद्‍मा दर्ता गराए

संघीय संसद्‍मा राष्ट्रिय मर्यादासम्बन्धी गैरसरकारी विधेयक दर्ता भएको छ । राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सत्तापक्ष र प्रतिपक्षी दलका सांसद मिलेर संयुक्त रूपमा गैरसरकारी विधेयक दर्ता गराएका हुन् ।

राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व हुनेगरी गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, देवेन्द्र दाहाल, प्रकाश पन्थ, प्रमिला कुमारी, वेदुराम भुसाल, रमेशजंग रायमाझी र शेखरकुमार सिंहले संयुक्त रुपमा गैरसरकारी विधेयक दर्ता गरेका हुन् । 

अछामी माओवादी केन्द्र, दाहाल एमाले, पन्थ कांग्रेस, भुसाल एकीकृत समाजवादी, प्रमिला कुमारी जनता समाजवादी पार्टी र सिंह लोकतान्त्रिक समाजवादी पार्टीका सांसद हुन् ।

संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार उक्त गैरसरकारी विधेयकमा सरकारी एवं सार्वजनिक पदाधिकारी र राष्ट्रिय जीवनमा योगदान गरेका विशिष्ट व्यक्तिहरूको मर्यादाक्रम, अतिविशिष्ट तथा विशिष्ट पदाधिकारीलाई गरिने सम्बोधन तथा राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग र अति विशिष्ट तथा विशिष्ट व्यक्तिलाई सम्मान प्रकट गर्ने, सलामी दिने जस्ता विषय समावेश छ ।

विधेयक प्रस्तुतकर्ता सांसदहरूको तर्फबाट प्रकाश पन्थले उक्त विधेयक संसद् सचिवालयमा दर्ता गराएका हुन् ।





  • प्रकाशित मिति : चैत ५, २०७९ आइतबार १७:१६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया