जनकपुरकाे राराब क्याम्पसमा ३६ दशमलव ८९ प्रतिशत मतदान

जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नेतृत्वका चयनका लागि आइतबार शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न भएको छ ।

स्ववियुको नेतृत्व चयनका लागि बिहान ८ बजेदेखि सुरु भएको मतदान दिउँसो ४ बजे सम्पन्न भएको हो । राराबमा ३६ दशमलव ८९ प्रतिशत मतदान भएको छ । 

राराब क्याम्पसमा जम्मा ७ हजार २१५ विद्यार्थी मतदाता रहेकोमा २ हजार ६६२ जनाले आ–आफ्नो मताधिकारको प्रयोग गरेका छन् ।
राराब क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमितिका लागि सभापतिमा ६ जनासहित कुल ८८ जनाले उम्मेदवारी दिएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी निकट लोकतान्त्रिक विद्यार्थी संघको तर्फबाट प्रशान्त झा, नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको तर्फबाट मनिषकुमार यादव, पाँच दलीय संयुक्त विद्यार्थी गठबन्धनको तर्फबाट गौतम यादव सभापतिका उम्मेदवार छन् । गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा), एमाले, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राप्रपा निकटका विद्यार्थी संगठनहरू रहेका छन् ।

त्यस्तै, जनमत पार्टी निकट विद्यार्थी जनमत संघको तर्फबाट इजाज मोमिन, स्वतन्त्र विद्यार्थी समूहबाट कन्हैयाकुमार पासवान र राष्ट्रिय विद्यार्थी परिषद्बाट अभिशेक साह सभापतिका उम्मेदवार छन् ।

राराबमा स्ववियु कार्यसमितिमा ११ जना प्रत्यक्षबाट र १० जना समानुपातिकबाट निर्वाचित भएर चुनिनेछन् । लोसपा विद्यार्थी संघबाट सभापतिका उम्मेदवार प्रशान्त झाले प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु निर्वाचन हुन नसक्दा विद्यार्थी आकर्षण घटेको बताए । उनले १४ वर्षपछि भएको स्ववियु निर्वाचनका कारण विद्यार्थीहरू उत्साहित भएको बताए ।



नेपाल विद्यार्थी संघबाट सभापतिका उम्मेदवार मनीषकुमार यादवले स्ववियु निर्वाचन नहुँदा विद्यार्थी आन्दोलन कमजोर भएको बताए । सबै विद्यार्थीको एक मात्र एजेण्डा यही भएकाले स्ववियु निर्वाचन सम्भव भएको उनको भनाइ छ । उनले स्ववियु निर्वाचनले विद्यार्थी आन्दोलनको उचाइ बढाउने दाबी गरे ।

विद्यार्थी जनमत संघको तर्फबाट सभापतिका उम्मेदवार इजाज मोमिनले विद्यार्थी संगठनहरू स्ववियु निर्वाचनका सन्दर्भमा एक भएकाले यो सम्भव भएको बताए ।



करिब १४ वर्षपछि आइतबार त्रिभुवन विश्वविद्यालयअन्तर्गतका देशभरका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न भएको छ । आइतबार बिहान ८ बजेदेखि सुरु भएको निर्वाचन दिउँसो ४ बजे सम्पन्न भएको थियो ।

देशभरका त्रिविका ६२ आङ्गिक क्याम्पस र १ हजार ४० क्याम्पसमा एकैदिन भएको निर्वाचनले मुलुक स्ववियु निर्वाचनमय भएको थियो ।
स्ववियु निर्वाचनमा उम्मेदवारका लागि उमेर हदबन्दी तोकिएको थियो । वि.सं २०५१ चैत २८ गतेपछि जन्मिएका विद्यार्थी मात्र उम्मेदवार हुन पाउने व्यवस्था गरिएको थियो ।

  • प्रकाशित मिति : चैत ५, २०७९ आइतबार १७:२२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया