एम्बुलेन्स भाडा बढी लिएर ठगी गर्ने चालकलाई कारवाहीको माग

एम्बुलेन्स भाडाको नाममा बढी रकम लिएर ठगी गरेको भन्दै चालकलाई पक्राउ गरी कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिइएको छ ।
 
सिरहाको कर्जनहा नगरपालिका वडा नम्बर–२ बस्ने सोहन महतोले प्र.२–०२–००१–०६२६ नम्बरको एम्बुलेन्स गाडीका चालक ३५ वर्षीय रामपति यादवविरुद्ध उजुरी दिएका हुन् । 

महतोले आफ्नो दुई महिनाको छोरा दिपक महतो गत पुस महिनामा विरामी हुँदा जनकपुरधामस्थित बाल अस्पतालमा भर्ना गराएका थिए । उनको छोराको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि अस्पतालले थप उपचारका लागि भेन्टिलेटरसहितको एम्बुलेन्समा काठमाडौँमा लैजान सल्लाह दियो । 

अस्पतालले एम्बुलेन्ससँग सम्पर्क गराए पछि सो एम्बुलेन्सका चालक रामपति यादवले काठमाडौंको भाडा ६० हजार रहेको भन्दै पहिला पैसा जम्मा गर्न दबाब दिए ।

सोहनले निकै हार गुहार गरेपछि चालक रामपति ५३ हजारमा विरामी लिएर काठमाडौं जान तयार भए । पैसाको जोहो गरेर सोहनले रामपतिलाई ५३ हजार बुझाएपछि हतार हतार काठमाडौंका लागि निस्के । जाँदाजाँदै सिन्धुली खुर्कोटको बीचमै उनको छोराको मृत्यु भयो । त्यसपछि उनी आफ्नो घर बन्दीपुर फर्के । 

घर आउँदा पुनः उनले रामपतिसँग काठमाडौको लागि तिरेको भाडा भएपनि आफ्नो छोराको मृत्यु भइसक्दा बिच बाटोबाटै फर्केकोले रकम फिर्ता गरिदिन हारगुहार गर्न थाले । तर, रामपतिले उनलाई उल्टै हप्काएर नराम्रो व्यवहार गरे ।
 
सोहनले आफ्नो निवेदनमा भनेका छन्, ‘म त्यतिबेला शोकमा हुँदा केही जवाफ नदिइ चुप लागेर बसे । तर, एम्बुलेन्सले २–३ घण्टा ढिलो नगरेको भए सायद मेरो छोराको ज्यान बच्ने थियो । नेपाल सरकारले राजश्व छुटको व्यवस्थामा एम्बुलेन्स खरिद गर्ने प्रावधान गरेको छ । ताकि सुलभ भाडामा विरामीले सेवा पाउन सकुन । तर, मैले एम्बुलेन्स चालकको व्यवहार र लापरवाही हेर्दा पैसाको लागि उनले २–३ घण्टा एम्बुलेन्स रोकेर राख्दा मैले मेरो छोरा गुमाउनु पर्यो । यस्ता एम्बुलेन्स चालकलाई कानूनी दायरामा ल्याई कडा भन्दा कडा कारवाही गर्न जरुरी रहेको मैले महशुस गरेको छु ।’

सोहनले पछि बुझ्दै जाँदा नेपाल रेडक्रस सोसाईटी धनुषाको दररेट अनुसार जनकपुरधाम देखि काठमाडौको एम्बुलेन्स भाडा १४ हजार रुपैयाँ मात्रै रहेको थाहा पाए । उनी आफू ठगीमा परेको र आफूसँग एम्बुलेन्स भाडाको नाममा अनाधिकृत रुपले बढी रकम लिएर मानवता विरोधी काम गर्नुका साथै एम्बुलेन्स चालक रामपतिको व्यवहारले गर्दा आफ्नो नाबालक छोरा गुमाउनु परेको पीडा सुनाए । 



सोहनले एम्बुलेन्स चालक यादवलाई अविलम्ब पक्राउ गरी कडा कानूनी कारवाही गर्नुका साथै आफूसँग लिएको अतिरिक्त रकम असुल उपर गराईदिन प्रहरी प्रशासनसँग माग गरेका छन् । 

यता, संयुक्त एम्बुलेन्स चालक संघ नेपाल जिल्ला शाखा धनुषाले पनि एम्बुलेन्स भाडाको नाममा चालक रामपतिले ठगी गरेकोले आवश्यक कारवाहीको माग गरेको छ । 



संयुक्त एम्बुलेन्स चालक संघ धनुषाका अध्यक्ष अरमान कुमार साहले बिहीबार एक विज्ञप्ती जारी गर्दै सिरहाको कर्जन्हा नगरपालिका–२ बस्ने सोहन महतोले संघमा दिएको निवेदन उपर छलफल गर्दा एम्बुलेन्स गाडी प्र.२–०२–००१–०६२६ नम्बरका चालक रामपति यादवले पीडितसँंग रेडक्रस सोसाईटी धनुषाको दररेट भन्दा बढी रकम लिएको हुँदा आवश्यक अनुसन्धान गरी कानूनी कारवाही गर्न धनुषा प्रहरीसँग आग्रह गरेका छन् ।​

  • प्रकाशित मिति : चैत ९, २०७९ बिहीबार २१:१८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया