आइजिपीबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषदको बैठक सिंहदरबारमा बस्दैछ । अपरान्ह ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्तिबारे निर्णय गर्ने बताइएको छ ।  

आज मध्यरातिदेखि प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अवकासमा जान लागेकाले सरकारले नयाँ आइजिपी नियुक्तिको तयारी गरेको हो ।  

नयाँ आइजिपीका लागि वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य गरी पाँच महानिरीक्षक प्रतिस्पर्धामा छन् । 

काम गर्नसक्ने सक्षम, सङ्गठनलाई कमाण्ड गर्नसक्ने, नेतृत्व दिनसक्नेलगायतलाई आधार मानेर नेपाल सरकारले आइजिपी बनाउनसक्ने विद्यमान अवस्था रहेको पूर्वप्रहरी अधिकारी बताउँछन् ।

‘मापदण्ड हेर्दा व्याख्याअनुसार जसलाई बनाए पनि हुने जस्तो देखिन्छ’, पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले भने, ‘सरकारले राम्रै र सक्षम व्यक्तिलाई ल्याउँछ, यो नियमित प्रक्रिया हो जस्तो लाग्छ मलाई ।’

पछिल्लो समयमा गृह मन्त्रालयले सरुवा बढुवामा मापदण्ड नै बनाएर लागू गरेको छ । सरकारले उपयुक्त व्यक्ति हो भन्ने व्याख्याका आधारमा गरेर पाँचमध्ये एकलाई आइजिपी बनाउनसक्ने देखिएको प्रहरी अधिकृतहरू बताउँछन् । 



सरकारले सिंहलाई गत १८ वैशाखमा महानिरीक्षक पदमा पदोन्नति गरेको थियो । प्रहरी नियमावली २०७१ को दफा ४१ मा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्त्व बहन गर्न सक्ने, नेतृत्व दिनसक्ने र आफू मुनिकालाई प्रोत्साहन गर्नसक्ने व्यक्तिलाई आइजिपी बनाउनसक्ने उल्लेख छ ।   



  • प्रकाशित मिति : चैत १०, २०७९ शुक्रबार ९:५७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया