मिटरब्याजी पीडितको समस्या समाधान गर्न नयाँ कानुन ल्याइँदै

मिटरब्याजीविरुद्ध आन्दोलनरत किसानको समस्या समाधान गर्न सरकारले पहल थालेको छ । 

महोत्तरीको बर्दिवासदेखि काठमाडौंसम्मको यात्रामा निस्किएका मिटरब्याजी पीडित किसानका समस्या समाधान गर्न तथा घर फर्किन गृहसचिवमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्देशन दिएको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । 

सोही निर्देशन बमोजिम मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले किसानसँग छलफल गरी सरकार कानुन बनाउने काममा लागेको र मिटरब्याजीविरुद्ध सरकारले मुद्दासमेत चलाइरहेको उल्लेख गरे ।    

घर फर्किन आवश्यक सहयोग गर्नेसमेत उनले प्रतिबद्धता व्यक्त गरेका छन् । प्रजिअ पाण्डेसँगको छलफलमा पीडित किसानले आफूहरू एउटा अभियानमा भएको र कानुन नबन्दासम्म नफर्कने बताएका छन् । 

किसानले सो अवसरमा काठमाडौंसम्मको यात्राका लागि आफूहरूलाई चिसो हुने र कम्बलको व्यवस्था गर्न तथा सवारी साधनको प्रबन्ध मिलाउन आग्रह गरेका थिए । प्रजिअ पाण्डेले किसानलाई कम्बलको व्यवस्था गरेका छन् ।

पीडित किसानको समस्या समाधान गर्न गृह मन्त्रालयले कानुन बनाउनका निम्ति मस्यौदा बनाएर कानुन मन्त्रालयमा पठाइसकेको प्रधानमन्त्री दाहालका प्रेस संयोजक शर्माले बताए । सरकारले तीन सय ५० मिटरब्याजीलाई कारबाही गरिसकेको छ । 



‘आज मात्रै प्रधानमन्त्रीले कानुन सचिवलाई कानुनलाई प्रस्तावको रूपमा आज अपरान्ह बस्ने मन्त्रिपरिषद्‌मा ल्याउन र संसदमा दर्ता गर्न भनिसक्नुभएको छ । चाँडै नै त्यो कानुन संसद्‌मा दर्ता हुन्छ । प्रधानमन्त्री मिटरब्याजी पीडित किसानको समस्या समाधान गर्न गम्भीर हुनुहुन्छ,’ प्रेस संयोजक शर्माले भने ।    



  • प्रकाशित मिति : चैत १०, २०७९ शुक्रबार १२:२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया