काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले मिटरब्याज पीडितलगायत आन्दोलन गर्नेहरूलाई शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारी शङ्कास्पद रहेको बताएका छन् ।
तराईका विभिन्न जिल्लाबाट ११ दिन पैदल हिँडेर सोमबार काठमाडौंका आइपुगेका मिटरब्याजी पीडितहरू खुलामञ्चमा प्रवेश गर्न खोजेका थिए । तर, काठमाडौं महानगरले उनीहरूलाई खुलामञ्चमा प्रवेश दिएन ।
खुलामञ्चमा प्रवेश नपाएपछि मिटरब्याज पीडितले सडकपेटीमै रात कटाए । उनीहरूलाई खुलामञ्चमा प्रवेश नदिएपछि सामाजिक सञ्जालमा काठमाडौं महानगरको आलोचना पनि भइरहेको छ ।
यहीबीचमा मेयर शाहले मिटरब्याज पीडितलाई खुलामञ्चमा राख्न गरिएको तयारी शङ्कास्पद रहेको प्रतिक्रिया दिएका हुन् । उनले मिटरब्याज पीडितको आन्दोलन माइतीघरको सडकमा बस्नका लागि नभइ न्यायको लागि भएको भन्दै सरकारले केही घण्टामा न्यायको अनुभूति दिलाउनुपर्ने पनि उल्लेख गरेका छन् ।
‘खुलामञ्च निषेधित क्षेत्र होइन र हुने छैन । तर माइतीघरमा आन्दोलन गर्नेहरूका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारीहरू शङ्कास्पद छन्,’ मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पहिलो, यो आन्दोलन माइतीघरको सडकमा बस्नका लागि होइन, न्यायको लागि हो । शिविर बनाएर महिनौँ वा वर्षौँ बसेर न्यायका लागि लड्ने वातावरण बनाउने होइन, सकेसम्म चाँडो र केही घण्टामा न्यायको अनुभूति दिलाउनुपर्ने हो । यसो नगरी सम्पूर्ण चासो र परिश्रम नै खुलामञ्चमा नै बस्नमा प्रयोग गरे जसरी प्राथमिकतामा राखिएको छ ।’
मेयर शाहले पीडितहरू स्थानीय र प्रदेश सरकारबाट न्याय नपाएर काठमाडौं आइपुग्नुले गाउँगाउँमा सिंहदरबारको नारालाई गिज्याइरहेको पनि उल्लेख गरेका छन् । उनले पीडितलाई शिविर नभइ आज नै न्यायको अनुभूति दिलाएर सरकारले बेलुका घर फर्किने वातावरण बनाउनुपर्ने पनि बताएका छन् ।
‘पीडितहरूले स्थानीय र प्रदेश सरकारबाट न्याय नपाएर काठमाडौं आइपुग्नुले हाम्रो संघीयतालाई निर्मम प्रश्न गरिरहेको छ, गाउँगाउँमा सिंहदरबारको नारालाई गिज्याइरहेको छ । यो अवस्थामा संघीय सरकारले अतिशीघ्र चासो दिनुपर्ने हो । यसै पनि न्याय माइतीघरले दिने होइन, कानुनको स्पष्टता नभएको अहिलेको अवस्थामा मन्त्रिपरिषदले दिनुपर्ने हो । पीडितहरूलाई शिविर होइन, आज नै न्यायको अनुभूति दिलाएर बेलुका घर फर्किने वातावरण बनाउनुपर्ने हो,’ मेयर शाहले भनेका छन् ।
उनले काठमाडौं महानगरले मिटरब्याज पीडितलाई सुरक्षित बसाइका लागि अन्यत्र स्थानमा विकल्प दिए पनि उनीहरूले नै खुलामञ्चभन्दा अन्य विकल्प मान्न तयार नभएको पनि उल्लेख गरेका छन् ।
‘काठमाडौं महानगरले उहाँहरूको सुरक्षित बसाइका लागि अन्यत्र सुरक्षित स्थानमा बसोबासको विकल्प दिइएको हो । तर उहाँहरूले खुलामञ्चभन्दा अन्य विकल्पहरू मान्न तयार हुनु भएन । खुलामञ्चको विषयमा अनावश्यक ऊर्जा खर्चिनभन्दा समस्या समाधानको लागि दबाब दिन र सोको लागि उपयुक्त ठाउँ प्रधानमन्त्री निवास बालुवाटार हो भन्ने सुझाव दिएपछि उहाँहरू बालुवाटारतिर लाग्नु भएको छ,’ मेयर शाहले भनेका छन् ।
उनले मिटरब्याज पीडितको आन्दोलनमा काठमाडौं महानगरको ऐक्यबद्धता रहेको पनि उल्लेख गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।