राराब क्याम्पसको निर्वाचन समितिको कार्यालयमा तालाबन्दी


जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसको निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरिएको छ । गत चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनमा समानुपातिक सूचिमा रहेको नाम छनोट प्रक्रिया विधान सम्मत तरिकाले नगरिएको भन्दै निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरिएको हो । 

स्ववियु सभापति मनिषकुमार यादवले समानुपातिक सूचिमा रहेकाहरुको नाम आफू अनुकूल मनोमानी तरिकाले सिफारिस गरेको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)का सदस्य पदका समानुपातिक उम्मेदवारहरुले तालाबन्दी गरेका छन् । 

सदस्यतर्फ नेविसंघले चारवटा समानुपातिक सिट पाएकोमा सभापति यादव र नेविसंघका अन्य केही व्यक्तिहरुले १ नम्बरमा नाम रहेको राजेशकुमार कर्ण, ४ नम्बरमा नाम रहेको उमेशकुमार मण्डल, ८ नम्बरमा नाम रहेको मनिषाकुमारी यादव र ९ नम्बरमा नाम रहेको दिपेन्द्र राउतको नाम सिफारिस गरेको सदस्य पदका उम्मेदवार सुशील अधिकारीले बताए । 

उनले आफ्नो नाम दुई नम्बरमा रहेपनि आफूलाई हटाएर त्यस ठाउँमा आफूलाई नेविसंघको नेता भन्ने पुष्पेन्द्र गोइतले आफ्नो साली मनिषाकुमारी यादवको नाम राख्न लगाएको आरोप लगाए । 
उनले ३ नम्बरमा नाम रहेको रञ्जना यादव, ५ नम्बरमा नाम रहेको युगान्धार बाबु साह, ६ नम्बरमा नाम रहेको दीपेन्द्र साह, ७ नम्बरमा नाम रहेको वाल्मिकी कुमार साह र १० नम्बरमा नाम रहेको राम नविन राय अमात्यको नाम हटाइएकोप्रति आफूहरुले विरोध जनाएको बताए । 

सभापति यादवलगायतकाले विधान नै नमानी, नियम उल्लंघन गरेर आफ्नो आसेपासेका चारजनाको नाम सिफारिस गरेको उनको आरोप छ । यसैबिच, उनीहरुले निर्वाचन समिति प्रमुख रेमन्त मोरबैतालाई समानुपातिक नामावलीको नाम प्रकाशन नगर्न आग्रह गर्दै ज्ञापनपत्रसमेत बुझाएका छन् ।  

ज्ञापनपत्रमा नेपाल विद्यार्थी संघको समानुपातिक सूचीमा इकाई कमिटीमा विवाद देखिएकाले नेविसंघको केन्द्रीय कार्यसमितिको निर्णय नआउन्जेलसम्म नाम प्रकाशन नगर्न आग्रह गरिएको छ । 





  • प्रकाशित मिति : चैत १४, २०७९ मंगलबार १४:१६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया