मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवका प्रेस सल्लाहकार सीताराम अग्रहरि ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको नियमविपरीत राजनीतिमा संलग्न देखिएका छन् ।
अग्रहरि ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको वर्तमान कार्यसमिति सदस्य हुन् । उनी कार्यसमितिका सदस्य रहे पनि राजनीतिक दलमा प्रत्यक्ष रुपमा सहभागी भएका छन् ।
ट्रान्सपरेन्सी इन्टरनेसनलको नियमानुसार संस्थाका पदाधिकारीहरू कुनै पनि राजनीतिक दलमा आबद्ध हुन नपाउने व्यवस्था छ । यदि प्रत्यक्ष राजनीतिमा संलग्न हुन चाहेमा नैतिकताका आधारमा राजीनामा दिनुपर्ने व्यवस्था छ । तर, अग्रहरि वर्तमान कार्यसमितिका सदस्य भएर पनि प्रत्यक्ष रुपमै राजनीतिक दलमा आबद्ध भई मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्ति लिएका छन् ।
स्रोतका अनुसार उनलाई राजनीमा बुझाउनका लागि ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले आग्रह गरे पनि हालसम्म उनले राजीनामा बुझाएका छैनन् ।
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको गत असोज २४ गते बसेको २७९औँ बैठकले अध्यक्ष पद्मिनी प्रधानांगले संस्थाको असोज ७ गते सम्पन्न वार्षिक साधारणसभाबाट निर्वाचित सदस्यहरुमध्येबाट उपाध्यक्षमा वरिष्ठ पत्रकार शरच्चन्द्र वस्ती, महासचिवमा चार्टर्ड एकाउन्टेन्ट मदनकृष्ण शर्मा, कोषाध्यक्षमा समाजसेवी सुनिता गुरुङलाई मनोनयन गरेकी थिइन् ।
त्यस्तै, कार्यसमितिका अन्य सदस्यमा वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल, वरिष्ठ पत्रकार सीताराम अग्रहरि, उद्योगी महेन्द्र नारायण श्रेष्ठ, वरिष्ठ पत्रकार हरिबहादुर थापा र राष्ट्रिय व्यवसायिक पहल प्रतिनिधि सरोज पाण्डेलाई मनोनयन गरिएको थियो ।
यसअघि १९९९ मा ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष श्रीभद्र शर्मालाई राजनीतिक दलले बोलाएपछि उनले पदबाट राजीनामा दिएका थिए । त्यस्तै, संस्थापक सदस्य राधेश्याम अधिकारीले पनि राजनीतिक दलमा संलग्नता जनाउने भएपछि पदबाट राजीनामा दिएका थिए ।
डा.रामदयाल राकेश पनि कार्यसमिति सदस्य हुँदा उनले राजीनामा दिएका थिए । तर, अग्रहरिले हालसम्म राजीनामा दिएका छैनन् ।
मधेसका मुख्यमन्त्री यादवले अग्रहरिलाई गत फागुन २० गते प्रेस सल्लाहकारमा नियुक्त गरेका थिए । जसपा अध्यक्ष उपेन्द्र यादवको नजिकका पात्र भएकै कारण उनलाई मुख्यमन्त्री यादवले प्रेस सल्लाहकार नियुक्त गरेको स्रोतको दाबी छ ।
प्रेस सल्लाहकारको नियुक्ति लिएपछि अग्रहरिले आफू मधेस प्रदेशको नयाँ दायित्वमा आएको हुँदा ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको कार्यसमिति सदस्य पदबाट मुक्त भएको भन्दै गत चैत ६ गते सामाजिक सञ्जालमा पोष्ट्याएको देखिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।